कमल । 

प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा टेम्के फुटबल क्लब सुनसरीले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा आयोजक समेत रहेको कमल गाउँपालिका खेलकुद विकास समितिलाई १–० ले पराजित गर्दै टेम्केले विजयी यात्रा सुरुवात गरेको हो ।

पहिलो हाफको २६औं मिनेटमा टेम्केका जनक कोइरालाले गोल गर्दै टिमलाई अग्रता दिलाएको गोल नै खेलको निर्णायक गोल बनेको थियो । खेलमा दुबै टिमले गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा थप गोल हुन सकेन ।

खेलको प्लेयर अफ द म्याच टेम्केका स्टाइकर जनक कोइराला भए । उनले नगद २ हजार ५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत बिहिबारको क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ पकली सुनसरी र धनकुटा फुटबल क्लबबीच हुने खेल संयोजक तेजकुमार राईले बताए ।