बिर्तामोड ।
बिर्तामोडमा नगरस्तरीय कोभिड–१९ सम्बन्धि संकट व्यवस्थापन समितिको एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा सोमबार नगरपालिकाको हलमा सञ्चालन भएको कार्यक्रममा कोभिड १९ महामारीको शुरु देखि अहिले सम्मको नगरपालिकाको अवस्थाको बारेमा जानकारी गराइएको थियो ।
नगरको स्वास्थ्य शाखाले कोभिड सचेतनाको विषयमा कोभिड बुलेटिन समेत प्रकाशन गरेको छ । बुलेटिनमा कोरोना संक्रमण पछि हुन सक्ने खतरा, कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गरेका गतिविधिहरुको बारेमा उल्लेख गरिएको छ ।
बिर्तामोड नगरपालिकामा हालसम्ममा कोरोनाबाट ज्यान गुमाउने संख्या ६७ रहेको छ । नगरपालिकामा पाँच हजार ८ सय ६७ जना कोरोना संक्रमण मुक्त रहेको र हाल सक्रिय संक्रमितको संख्या २ सय २४ रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बिनोद कुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, स्वास्थ्य शाखा प्रमुख राजिव विष्ट, इलाका प्रहरी कार्यालय अनारमनिका प्रमुख सन्तोष आचार्य, जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो । नगरको जनस्वास्थ्य निरिक्षक ओम खड्काले कार्यक्रमको सहजीकरण गरेका थिए ।