बिर्तामोड ।
मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल झापा गोल्डकप (आज)शनिवारबाट शुरु हुँदैछ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सातदोबाटो र जावलाखेल युथ क्लबबीच उद्घाटन खेल हुन लागेको हो ।
प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
करिब १० हजार दर्शक बस्न मिल्नेगरी बाँसको प्यारापिट निर्माण गरिएको छ भने दर्शकको चाप हुनसक्ने अनुमानका साथ प्यारापिटको अघिल्लोतिर दर्शकका लागि प्लास्टिकको कुर्सी र भुइँमा बसेर हेर्न सहज होस् भनेर कार्पेट ओच्छ्याइएको छ ।
प्रतियागिताको तयारीस्वरुप झापा जिल्लाभरि स्वागत गेटहरु निर्माण गरिएको छ । बिर्तामोड आसपासमा एक दर्जन स्वागतद्वार बनाइएको छ । पाँचौ संस्करणको झापा गोल्डकपमा घरेलु टोली झापा–११ सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ, थ्री स्टार, संकटा, सातदोबाटो र जावलाखेल युथ क्लब सहभागी हुने आयोजकले जनाएको छ । गोल्डकपमा दुई भारतीय टिम एम एफसी दार्जीलिङ र आरपी एफसी सिक्किम सहभागी हुनेछन् ।
झापा गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपबिजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउँनेछन् । त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ ।
रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग उद्घाटन कार्यक्रममा प्रदान गरिनेछ । प्रतियोगिताको समापन पूर्व उप–प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गर्ने जनाइएको छ ।