झापा । 

झापाका सहकारीहरुको छाता संगठन झापा जिल्ला सहकारी संघ भद्रपुर झापाले विभिन्न संघ÷संस्था तथा ब्यक्तित्वलाई सम्मान गरेको छ ।  संघको २५ औं बार्षिक साधारणसभाको अवसरमा कनकाई नगरपालिकास्थित जामुनखाडी पर्यटकीय स्थलमा शुक्रवार (आज) आयोजित कार्यक्रममा संस्था तथा ब्यक्तिलाई सम्मान गरेको हो । 

संघले राष्ट्रिय सहकारी ब्यक्तित्वको रुपमा केशव पोखरेललाई २० हजार ५ सय ५५ रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ । उत्कृष्ट सञ्चारकर्मीका रुपमा पत्रकार चन्द्र भण्डारीलाई ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरेको छ भने  उत्कृष्ट बहुउद्देश्यीय सहकारीका रुपमा बिर्तामोडको सतासी बहुमुखी सहकारीलाई नगद १० हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरेको छ । 

त्यसैगरी उत्कृष्ट बचत तथा ऋण सहकारीका रुपमा बिर्तामोडको कर्णाली बचत तथा ऋण सहकारी संस्थालाई नगद १० हजार ५ सय ५५, उत्कृष्ट कृषि सहकारीका रुपमा हल्दीबारीको साना किसान चिया उत्पादक सहकारीलाई नगद १० हजार ५ सय ५५, उत्कृष्ट ब्यवस्थापकका रुपमा कमल गाउँपालिकाको चन्द्रदर्शन बचत तथा ऋण सहकारीका राजु थापा र मेचीनगरको महालक्ष्मी कृषि सहकारीकी प्रेमकुमारी सुवेदीलाई ५ हजार ५ सय ५५ नगदसहित सम्मान गरिएको छ । 

s2

त्यस्तै उत्कृष्ट बचत कारोवारमा दमकको दमक बहुमुखी सहकारी र उत्कृष्ट कर्जा कारोवारमा बिर्तामोडको सुनकोशी बचत तथा ऋण सहकारीलाई नगद १० हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिएको थियो ।  

संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्य रहेको थियो ।  स्वागत संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले गरेको कार्यक्रममा विशेष अतिथि राष्ट्रिय सहकारी बैंकका लेखा संयोजक लक्ष्मीप्रसाद उप्रेती रहेका थिए भने कार्यक्रमको सञ्चालन संघका सचिव भवानीप्रसाद दंगालले गरेका थिए । 

आर्थिक बर्ष २०७७/७८ मा संघमा हाल ४ सय ९३ वटा संस्थाहरु आवद्ध रहेका संघको शेयरपुँजी ३ करोड ६६ लाख २५ हजार एकसय रुपैयाँ रहेको अध्यक्ष ढकालद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संघको निक्षेप हिसाव २६ करोड ३९ लाख ९८ हजार ६२८ रुपैयाँ ६८ पैसा भने लगानीमा रहेको कर्जा १९ करोड २३ लाख ७५ हजार १७९ रुपैयाँ ३० पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।