- रामप्रसाद ढुङ्गेल
दुबई ।
भनिन्छ धन हुनेसँग मन हुँदैन अनि मन हुनेसँग धन हुँदैन । तर, लमजुङ स्थायी घर भई हाल युएईको नेपाली व्यवसायिक क्षेत्रमा ४ वटा रेस्टुरेन्ट स.ञ्चालन गर्दै आएका महेन्द्र पौडेलले आफुले कमाएको धनको केही भाग सामाजिक तथा शैक्षिक उत्थानका लागि समर्पण गर्दै आएका छन् ।
युएईमा कार्यरत नेपाली व्यवसायी महेन्द्र पौडेलले आफ्नो जन्मदिनको अवसरमा केही वर्षदेखि निरन्तर रुपमा सामाजिक कार्यमा सहयोग गर्दै आएका छन् ।
आज फागुन १५ गते जन्मदिन परेका नेपाली व्यवसायी महेन्द्र पौडेलले विगतका जन्मदिनहरुमा केक काटेर मनाउनु भन्दा सामाजिक कामहरु गरेर जन्मदिनलाई निरन्तर दिएका छन् । गत वर्षको जन्मदिनमा पौडेलले लमजुङको एक वृद्आश्रयमा तातोपानीको व्यवस्थापन गरेर मनाएका थिए । जन्मदिनमा ठुलो पाटी गरेर अनावश्यक रकम खर्चनु भन्दा परोपकारी सामाजिक, शैक्षिक हितमुलक कम गरी मनाउदा सार्थक र अर्थपूर्ण हुने विस्वास व्यवसायी पौडेलको रहेको छ ।
पौडेलले यस पटकको जन्मदिनमा कखरा सिकेको स्कुलमा स्थापित अक्षयकोषलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छन् । उक्त रकम आफ्ना स्वर्गीय बुबा बृहस्पति पौडेलको स्मृतिमा लमजुङको निबुवाटारी, जिताबेशीमा रहेको श्री सुर्य ज्योति माध्यामिक विध्यालयमा स्थापना भएको अक्षयकोष ‘बृहस्पति स्मृति छात्रवृति कोष’ मा रकम जम्मा गर्ने घोषणा गरेका हुन् ।
उक्त कोषबाट सोही बिध्यालयका गरिव तथा जेहेन्दार विध्यार्थीहरुलाई नियमित छात्रवृत्ति प्रदान गरिने पौडेलले जानकारी दिए । युएईमा पहिला रोजगारी र बिगत केही वर्षदेखि रेस्टुरेन्ट व्यवसाय गर्दै आएका पौडेलले आफ्नो जन्मदिनको अवसरमा सामाजिक संजाल फेसबुकमा लेखेका छन्
ू‘आज मेरो जन्मदिन । सर्बप्रथम त मलाई जन्म दिनुहुने मेरो आमाप्रति ढोग तथा नमन । हालसालै स्वर्गबास हुनु भएको मेरो बुबाप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु । आज मेरो जन्मदिनको खुशियाली भन्दा पनि मेरो जन्मदिनमा आफ्नो बुबाको आशीर्वाद लिन नपाउदा म ज्यादै दुःखी छु । भाग्यको लेखा अब केबल उहाँ सम्झनामा मात्र हुनुहुन्छ । बाबाले देखाएको बाटो र उहाँको आशीर्वाद पूरा गर्नु सशिवाय, अरु के नै बाँकी रहयो र ? तै पनि बाबाको योगदान र उहाँको नाम अमर राख्दै चीर स्मरण र सम्मान स्वरुप आज मेरो जन्मदिनको उपलक्ष्यमा उहाँको स्मृतिमा मेरो बाल्यकालको विद्यालय श्री सुर्य ज्योती माध्यामिक बिद्यालय निबुवाटारी जिताबेशी (जहाँ मैले क,ख,रा सिके) मा एक अक्षय कोष ‘बृहस्पति स्मृति छात्रवृति’ स्थापना स्वरुप सानो सहयोग राशी २ लाख नेपाली रुपैयाँ प्रदान गर्ने वाचा गर्दछु । सो रकमको ब्याजबाट हरेक बर्ष जेहेन्दार र आर्थिक अवस्था कम्जोर भएका बिद्यार्थीहरुलाई विद्यालयको समन्वयमा छात्रवृति पुरस्कार प्रदान गरिनेछ । घोषित रकम विद्यालयसँग समन्वय गरी म नेपाल गएको समयमा बिद्यालयको कुनै बिशेष समारोहमा हस्तान्तरण गर्नेछु ।’
युएईको दुबई एरियामा नेपालीको सगरमाथा रेस्टुरेन्ट, देरामा नमस्ते रेस्टुरेन्ट, सारजामा मुमताज रेस्टुरेन्ट र केही महिना अगाडि बर दुबईको बसपार्क एरियामा दर्शन नमस्ते रेस्टुरेन्ट सञ्चालन गरिरहेका पौडेल युएईको नेपाली व्यवसायिक क्षेत्रमा सफल, इमानदार र मिहिनेती व्यवसायीका रूपमा परिचित छन् ।
आफ्नो व्यवसायिक सफलतामा श्रीमती मन्जु गौली पौडेलको दरिलो साथ सहयोग रहेको बताउने पौडेलले आफ्ना साडुदाइ र जेठान दाइलाई पनि युएईमा व्यवसायिक वातावरण बनाउन सहयोग र सहकार्य समेत गरिरहेका छन् । आफ्नो सफलताको श्रेय आफ्नो दाजु राजेन्द्र पौडेललाई दिने पौडेल दाजु अनि भाउजुको प्रोत्साहन र उनीहरुले आफ्नो शैक्षिक तथा समग्र विकासमा विगतमा निर्वाह गरेको सर्गव बताउँछन् ।
कुनै वेला इमारत पेट्रोल पम्पमा पेट्रोल भर्ने एक इमानदार नेपाली श्रमिक पौडेल अहिले चार वटा व्यवसायिक संस्थाको नेतृत्व गरी ५० जना भन्दा बढीलाई रोजगारी प्रदान गरेर नेपाल र नेपालीको गरिमा उच्च बनाउन सफल भएका छन् ।