सुरुङ्गा । 

कनकाई नगर खेलकुद विकास समितिले संचालन गरेको वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नं.५ले हात पारेको छ । शुक्रबार कनकाई वडा नंं.३ र वडा नं.५ विच भएको प्रतिस्पर्धात्मक खेलमा १—० गोलको अन्तरले वडा नं. ५ विजयी बनेको हो ।

 विजेता टिमका खेलाडी भीम मगरले खेलको १२ औं मिनटमा गरेको पहिलो गोल नै निर्णायक बनेको खेल संयोजक गोविन्द उप्रेतीले जानकारी दिए । विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमख राजेन्द्र पोखरेलले नगद ५१ हजार, प्रमाण पत्र र ट्रफी प्रदान गरे । त्यस्तै उपविजेता टिम कनकाईको वडा नं. ३ लाई समेत नगद ३१ हजार, प्रमाण पत्र र ट्रफी प्रदान गरेको बताइएको छ ।                                                                                                

  खेलको म्यान अफ द म्याच विजेता टिमका गोल कर्ता भीम मगर घोषित भए । कनकाई ३ का खेलाडी सनम देवान खेलको म्यान अफ द सिरीज घोषित भए । उनलाई कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाइँले पुरस्कार प्रदान गरेकी थिइन् । कार्यक्रमकै अवसरमा यस अघि नै सम्पन्न भएको कनकाई नगर क्षेत्रको वडास्तरीय कराँते प्रतियोगिताको पुरस्कार साथै ट्रफी र प्रमाण पत्र समेत वितरण गरिएको बताइएको छ ।