• रोहित काफ्ले

भद्रपुर ।

झापामा हात्तीपाइले रोगबिरुद्धको आमऔषधि सेवन अभियानका लागि आवश्यक तयारी सुरु गरिएको छ ।

एक दशकदेखि अभियान सञ्चालन भइरहेको झापामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिसकेकोले एघारौं पटक अभियान सञ्चालन हुन लागेको हो ।

झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा आज जिल्लामै पहिलो पटक अभियान बारे सर्वपक्षीय अन्तरक्रिया गरिएको छ ।

भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा अभियान बारे सञ्चालन गरिएको योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीमा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले हात्तीपाइले रोग, यसबाट बँच्ने उपाय, आम औषधि सेवन अभियान र अभियानका प्रभावहरुका बारे जानकारी गराउँदै तयारी बारे स्पष्टपारेका थिए ।

सन् २०२० मै नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने प्रतिबद्धता नेपाल सरकारले गरे पनि केही जिल्लामा निवारण हुन नसक्दा अभियान थपिएको उनले जानकारी दिए । प्रदेश १ मा झापा र मोरङमा यो कार्यक्रम छ । उनका अनुसार यही फागुन २८ देखि आमऔषधि सेवन अभियान सञ्चालन हुनेछ ।

यसका लागि झापामा ६ सय स्वास्थ्यकर्मी र त्यति नै संख्यामा स्वास्थ्य स्वयम्सेविका परिचालन हुनेछन् भने जिल्लाका ८ लाख ४३ हजार नागरिकलाई औषधि सेवन गराउने लक्ष्य छ । उक्त संख्याका लागि करिब ९ लाख चक्की एडबान्डाजोल र  २० लाख चक्की डीइसी औषधिको व्यवस्था गरिएको चौलागाईंको भनाइ छ ।

ब्राक्रोप्टी नामको परजीवीबाट लाग्ने हात्तीपाइले रोग सरुवा रोग मानिन्छ । उक्त परजीवी एक व्यक्तिबाट अर्को व्यक्तिमा लामखुट्टेको टोकाइबाट सर्दछ । यो रोग लागेका व्यक्तिहरुमा खुट्टा हात सुन्निे, पुरुषमा हाइड्रोसिल हुने, महिलामा यौनांग तथा स्तन सुन्निने हुन्छ । यो रोग लागिसकेपछि उपचार नहुने हुँदा रोग लाग्न नदिने उपायको रुपमा आमऔषधि औषधि सेवन गर्नुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

पछिल्लो तथ्यांक अनुसार झापामा हात्तीपाइले आशंका गरिएका २९० बिरामी छन् । तीमध्ये १४६ जनामा हाइड्रोसिल, १४० जना खुट्टा सुन्निएको र ६ जना हात र स्तन सुन्निएका बिरामी रहेको चौलागाईंले जानकारी दिए  ।