बिर्तामोड ।
बिर्तामोड नगरपालिकाले नगरका सत्रवटा सामुदायिक बिद्यालयमा पुगेर तीन हजार चार सय ६१ जना विद्यार्थीलाई पोशाक वितरण गरेको छ । बिर्तामोड नगरक्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर तथा विपन्न परिवारका नर्सरीदेखि कक्षा ५ सम्मका छात्र छात्रालाई विद्यालय पोशाक वितरणगरिएको हो ।
फागुन ४ गते बुधबारदेखि शुरु गरिएको पोशाक वितरण अभियानमा नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रुमख पवित्रा महतारा प्रसाई, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतको टोली खटिएको थियो । सबै विद्यालयमा पुगेर जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, प्रधानाध्यापक र शिक्षकको उपस्थितिमा पोशाक वितरण गरिएको हो ।
नगरप्रमुख ध्रवकुमार शिवाकोटीले सामुदायिक विद्यालयमा पुगेर अनुगमन गर्दा अभिभावकहरुले ड्रेस किन्न नसकेका कारण धेरै वालवालिका विद्यालय जानबाट बञ्चित भईरहेको पाइएकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै समावेश गरेर पोशाक वितरण गरीएको बताए । पोशाक वितरण कार्यक्रमले अभिभावक, शिक्षक र विद्यार्थीहरुमा हौसला मिलेको छ ।
बिर्तामोड नगरपालिका क्षेत्र भित्र रहेका अझै ३ वटा विद्यालयमा पोशाक वितरण गर्न बाँकी छ । बिर्तामोड २ मा रहेको साङ्गवेद संस्कृत माध्यमिक विद्यालय, बिर्तामोड ३ को मदरसा तालेमुल कुरान र बिर्तामोड ६मा रहेको हरिहर आश्रमका विद्यार्थीहरुलाई पोशाक वितरण गर्न बाँकी रहेको हो । उक्त बिद्यालयमा पनि चाँडै पोशाक वितरण गरिनै नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिए ।