बिर्तामोड ।
झापा गोल्डकपमा बिर्तामोडका ब्यवसायीतर्फबाट खासै सहयोग नपाएको झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले गुनासो गरेका छन् । झापा गोल्डकपको पाँचौ संस्करणका लागि मुख्य प्रायोजकसँग आइतवार चारपानेमा भएको सम्झौता कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले उक्त गुनासो पोखेका हुन् ।
‘बिर्तामोडमा रहेर ब्यवसायबाट धेरै फाइदा लिएका छन्, त्यो ठाउँले धेरै कुरा दिएका छ’ अध्यक्ष बस्नेतले भने ‘तर, त्यो फाइदा लिएको ठाउँका लागि बिर्तामोडका ब्यवसायीले सामाजिक कार्य गोल्डकपका लागि चासो दिएका छैनन् ।’ धोरै र सानो मात्र सहयोगले झापा गोल्डकप माथि नउठ्ने बताउँदै अध्यक्ष बस्नेतले सवैले सकेसम्मको सहयोग गर्नसमेत आग्रह गरेका छन् ।
झापा गोल्डकपका लागि मुख्य प्रायोजकको रुपमा नेपाल आइसले सम्झौता गरेको छ । कम्पनीका प्रतिनिधि मनिष सिंह र झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले सम्झौतामा हस्ताक्षर गरेका छन् । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्ड कपको पाँचौँ संस्करणका लागि गोल्डकपका अध्यक्ष बस्नेत र नेपाल आइसका मार्केटिङ मेनेजर मनिष सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
गोल्डकपको पाँचौ संकरणलाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउन आफ्नो कम्पनीको उत्पादन नेपाल आइस बियरले गोल्डकप प्रायोजन गरेको सिंहले बताए। झापाको भूगोल र फुटबलप्रतिको लगावलाई समेट्दै जिल्लालाई फुटबल हबको रुपमा विकास गर्ने उद्देश्यले काम गरिरहको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले बताए ।
झापा गोल्डकप फागुन २१ देखि विर्तामोड स्थित डोमालाल राजवंशी रंगशाला बिर्ताबजारमा हुँदैछ ।