झापा ।
पेशागत बीमा अभिकर्ता संघ नेपालले बीमा अभिकर्तालाई कम्पनीले विमितलाई दिने बोनस प्रतिवर्ष बढाउँदै लाने भनिएपनि हाल बोनसदर घटाएको भन्दै आपत्ति जनाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ८ बर्षदेखि बोनसदर बृद्धि नगरेको र बृद्धिका लागि पटक–पटक माग गर्दा समेत वेवस्ता गरेको भन्दै संघले आपत्ति जनाएको हो ।
कम्पनीले विमितलाई दिने बोनसदर प्रतिबर्ष प्रतिहजार ६५ रुपैयाँ आन्तरिम बोनस हुने छ र यो बोनस आगामीदिनमा क्रमशबृद्धि गरिदै लगिने छ भनी कम्पनीबाट जारी ब्रोसर र स्कृति पत्रमा समेत उल्लेख गरिएको संघद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
बिज्ञप्तीमा भनिएको छ ‘पछिल्लो बर्षहरुमा कम्पनीले बिज्ञापनका माध्यमबाट ६५ देखि ८२ रुपैयाँको बोनस देखाई ब्यापार गर्दै आएको कुरा सर्वविदितै छ ।’ त्यस्तै सवै सुचाङ्कमा कम्पनी एक नम्बरको भनिरहँदा शेयरधनीहरुले ५१ प्रतिशतदेखि १२७ प्रतिशतसम्म लाभांश पाइरहेको संघका अध्यक्ष राजेन्द्र अमात्यद्धारा हस्ताक्षरित बिज्ञप्तीमा जनाइएको छ ।
संघले लाखौ अभिकर्ता र २० औं लाख विमितहरुप्रति गरेको विश्वास घातको निन्दा गर्दै लाखौं अभिकर्ता र २० औं लाख विमितहरुको तर्फबाट उक्त कार्य अविलम्ब सच्याई अभिकर्ता र विमितहरुलाई दिएको आश्वासनलाई ग्यारेन्टी गरी समय सापेक्ष बोनसबृद्धिको जोडदार माग गरेको छ ।
अध्यक्ष अमात्यले शान्तिपूर्ण रुपमै कम्पनीले समस्या समाधान गर्ने विश्वास गरेको बताउँदै नगरे चरणबद्ध विरोधका कार्यक्रम गर्ने जानकारी दिए ।