• धमेन्द्र भट्टराई ‘मामा’

बिर्तामोड । 

बिहान सबेरैदेखि साँझ अबेरसम्म कमला पराजुली कम्प्युटरको स्कृनसंगै बिताउछिन् समय । उनका श्रीमान नरेन्द्र मेसिनसंगै खेलिरहेका हुन्छन् । समयभित्रै पुस्तकहरू छापेर हस्तान्तरण गर्नुपर्ने चटारो छ उनीहरु दुवैलाई ।  काम सकिएको छैन भन्नु नपरोस् भन्ने पराजुली दम्पतिको चाहना छ । 

काममा निरन्तर लगनशीलताका साथ लाग्ने यी दम्पति अहिले झापाका चर्चित प्रेसहरु मध्ये पहिलो नम्बरमा बुद्ध अफसेट प्रेस चलाउँछन् । आफूलाई विवाह गरेर ल्याएपछि आफै काम गरेर कमाई खानुपर्छ भन्ने श्रीमानलाई सुझाव दिएकी कमला १५ वर्षभित्रमा शिखरमा पुगिसकेकी छन् ।

 विवाह गर्नु पूर्व श्रीमान नरेन्द्र पराजुली मेशिन म्यानको रुपमा काम गर्दै आएको दशक बितिसकेको थियो । २०६४ सालमा एउटा सानो मेसिन खरिद गरेर आफै प्रेस सञ्चालन गर्न थालेका पराजुली दम्पती अहिले सबैको लोकप्रिय प्रेसको रुपमा स्थापित गर्न सफल भएका छन् । विर्तामोडको भद्रपुर रोडमा एउटा सानो कोठा लिएर सञ्चालन गरेको बुद्ध अफसेट प्रेस अहिले झापाको सबैभन्दा बढी प्रकाशन गर्ने प्रेसको रुपमा चिनिएको छ ।

‘सुरु सुरुमा सामान्य बिल पर्चा पम्प्लेटहरु मात्र  छाप्थ्यौं, केही समयपछि झापाबाट प्रकाशित हुने दैनिक तथा साप्ताहिक पत्रपत्रिकाहरु छाप्न थाल्यौँ, कमला बिगत लाई सम्झदै भन्छिन्, पछि गएर झापाका चर्चित पत्रिकाहरु विवेचना दैनिक जनआन्दोलन साप्ताहिक झापाली आवाज यलम्बर टाइम्स नयाँ कामना साप्ताहिक बरुण साप्ताहिक अर्जुनधारा दैनिक पूर्वाञ्चल दैनिक लगायतका पत्रिकाहरू हाम्रै प्रेसमा छापिन थाले ।  त्यसपछि त झापाली साहित्यकारहरूको दृष्टि हाम्रो प्रेसमा पर्न थाल्यो । दर्जनौ झापाली साहित्यकारहरुले उहाँहरुका कृतिहरु फटाफट हाम्रो प्रेसमा ल्याउन थाल्नु भयो । झापाका चर्चित साहित्यकारहरु चूडामणि रेग्मी तेजराज खतिवडा सरोज ओली कोमलप्रसाद पोखरेल डा.ठाकुर पोखरेल, जीवनाथ सुवेदी डा. के आर खम्बू, मोहन प्रियाचार्य विष्णु प्रसाद भट्टराई पुण्यप्रसाद खरेल विजय पोखरेल कृष्णप्रसाद उप्रेती, गोपीकृष्ण खनाल राजेन्द्र संग्रौला, पुण्य खरेल मातृका संग्रौला इलामे जेठो लगायत दर्जनौं साहित्यकारहरूको कृति प्रकाशन गर्ने मुख्य प्रेस नै बुद्ध अफसेट प्रेस बन्न पुगेको छ । 

‘अहिले कामको चाप धेरै नै बढेको छ’ नरेन्द्रले भने मेची अञ्चल बाबजुद कोशी अञ्चलका विभिन्न जिल्लाहरुबाट समेत विभिन्न संघसंस्थाहरुले प्रकाशनका लागि सामग्रीहरु लिएर आउनु हुन्छ ।’ सरकारी तथा गैरसरकारी संघसंस्थाका मुखपत्रहरु प्रतिवेदनहरु लगायतका सामग्रीहरु निरन्तर प्रकाशित भइरहेका छन् । हालसम्म बुद्ध अफसेटबाट करिब १२ हजार फरक–फरक पुस्तकहरु प्रकाशन भएको नरेन्द्र बताउँछन् । वंशावली प्रकाशन गर्न केही अप्ठ्यारो  भएपनि भट्टराई, न्यौपाने, गुरागाईं, लिम्बू ,बस्नेत, पोखरेल, बोखीम लगायतका थरको एक दर्जनबढी वंशावली प्रकाशन गरिसकेका छन् । 

महत्वपूर्ण व्यक्तित्वहरूको स्मृतिग्रन्थ  प्रकाशन गर्न पाउँदा उनीहरुको बारेमा  जानकारी लिने अवसर समेत पाएको पराजुली दम्पतीको अनुभव छ । हालसम्म डि कौडिन्य, नरपति लुइटेल, खडानन्द वाशिष्ठ, गोकुल जोशी, द्रोणाचार्य, गोपीकृष्ण खनाल, शिक्षाक सन्देश जस्ता दर्जनौं स्मृति ग्रन्थहरु बुद्धअफसेटबाटै प्रकाशन भएका हुन् । श्रीमद् भागवत र गीता जस्ता धार्मिक ग्रन्थहरू पनि प्रकाशन भएका छन् ।

कमला र नरेन्द्रसंग काम गर्न अत्यन्त आनन्द आउछ उनीहरु साह्रै सरल र मिजासिला स्वभाव का छन्, कहिले पनि झर्कोफर्को नगर्ने आफूले अराएको काम इमान्दार पूर्वक गर्ने उनीहरूको बानी छ, प्रसिद्ध साहित्यकार कोमलप्रसाद पोखरेल अनुभव सुनाए । विगतको तुलनामा अहिले अफसेट प्रेसका नयाँ नयाँ प्रविधिहरु भित्र्याएकोले गर्दा काम गर्न छिटो र सहज भएको सुनाउँछन्  नरेन्द्र । सात सय पृष्ठ सम्मका पुस्तकहरूलाई पर्फेक्ट बाइन्डिं गरेर दिन सकिने प्रति घण्टा छ हजार पेज छाप्न सक्ने चेक मेशिन र  इण्डियन मेसिनको प्रयोग गरी मल्टि कलर प्रिन्ट गर्ने सुविधा भएको नरेन्द्रले जानकारी दिए । 

सबभन्दा रमाइलो पक्ष के छ भने उनीहरुले काम गर्ने अरु मानिसहरु राखेका छैनन् कमला आफै टाइप गर्छिन् भने नरेन्द्र आफै मेसिन चलाउँछन् र बुकबाइण्डिगं समेत गर्छन्। आफ्नै घरमा प्रेसको काम हुने भएकाले र आफै काम गर्ने भएकाले अन्य प्रेस को तुलनामा आफ्नो प्रेसमा सस्तो र छिटो हुने कमलाको दाबी छ। भर्खरै उनीहरुले सिटीपी प्रविधि भित्र्याएका छन् जसबाट छपाइ र गुणस्तरीय सामग्री उत्पादन गर्न सहज भएको नरेन्द्र बताउँछन्। 

छिटोछरितो र सस्तो हुनुका साथै गुणस्तरीय सामग्री उत्पादन गर्ने भएकाले नै हामीले आफ्नो विद्यालयको सम्पुर्ण प्रकाशनसम्बन्धी कामहरु बुद्ध अफसेट प्रेसमा नै दिने गरेका छौं, बिर्तामोड स्थित न्यूटन एजुकेशन अकाडमी का प्रिन्सिपल देवेन्द्र हुमागाई बताउनुहुन्छ। हामीले सकेसम्म आउने ग्राहकलाई सबै प्रकारका सुविधाहरु दिने प्रयास गरेका छौं, प्रुफ रिडींग को व्यवस्था गरिएको छ र तोकिएको समयमा नै सामग्रीहरुको उत्पादन गरेर दिने गरेकाले नै सबैको रोजाई बुद्ध अफसेट हुनपुगेको यी दम्पतिको अनुभव छ। कमला भन्छिन्, सानातिना छपाइ सम्बन्धी सामग्रीहरू त आउँछ नै ठूलाठूला पुस्तकहरू छाप्न पाउनु र उहाँहरूसँग काम गर्न पाउनु हाम्रो लागि खुशीको कुरा हो ।