जलथल । 

शीप सिकेर आत्मनिर्भर बन्ने तथा रोजगारीमा जान चाहनेका लागि निःशुल्क शीपमुलक तालिम सञ्चालन हुने भएको छ । ग्रामीण सडक सुधार परियोजनाले शीप सिक्न चाहने महिला तथा पुरुषका लागि खान बस्नसहित निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न लागेको हो ।

इटहरीमा माघ ११ गतेदेखि सञ्चालन हुने तालिममा २० जना सहभागी पठाउने तयारी गरेको हल्दिबारी वडा नं. ४ का अध्यक्ष होम चुडालले बताए । 

मोटरसाईकल मर्मतका लागि ३ जना, वोल्डिङ्ग सम्बन्धि काममा ३ जना, डकर्मीका लागि ५ जना, पशु भेटनरीका लागि ३ जना र इलेक्टिसयनको लागि ३ जनाले तालिममा सहभागी हुन सक्नेछन् । तालिम लिनको लागि नागरिकताको प्रतिलिपी र निबेदन हल्दिबारी ४ का स्थानीय नागरिकले हल्दिबारी ४ को वडा कार्यालयमा पेश गर्नुपर्ने जनाइएको छ । 

तालिममा सहभागी हुनेको उमेर १८ पूरा गरेर ३५ वर्ष ननाघेको हुनु पर्नेछ भने शैक्षिक योग्यता सामान्यदेखि दश कक्षा उत्तीर्ण तोकेको छ । तालिमका सहभागी परिक्षार्थीले दैनिक दुईसय रुपैयाँ भत्तासहित  खाने बस्ने सुबिधा तथा आउने जाने  यातायात खर्चको समेत ब्यवस्था गरिएको वडा अध्यक्ष होम चुडालले बताए ।

उनले भने तालिम लिने  माघ १० गते सम्ममा वडा कार्यालयमा निबेदन पेश गर्नु पर्ने उनले जानकारी दिएका छन् ।  यसअघि पनि वडाबाट २० जनाले तालिम लिएको र ती मध्येबाट ५ जना प्लम्बर र ५ जना ब्यूटीसियन बैदेशिक रोजगारीकोमा जान लागेको उनले बताए ।