गोलधाप । 

नेपाल सरकारले प्रत्येक स्थानीय तहमा १५ सैयाको आधारभूत अस्पताल खोल्ने निर्णय गरे अनुसार हल्दिवारीमा अस्पताल शिलान्यास भएपछि जग्गा छनोटको बिषयले गर्दा बिबाद भएको अस्पतालको निर्माण कार्य सूरु भएको छ । 

गत  २०७७÷०८÷१५ गते शिलान्यास भएता पनि अस्पताल बन्ने कुरामा विबाद भएपछि निर्माण कार्य सुरु हुन सकेको थिएन । गाउँपालिकाको अस्पताल सबै जनताको पायक पर्ने ठाउँमा बन्नु पर्नेमा बाह्रदशी गाउँपालिकाको सिमानामा बनाउने भन्ने बिषयले बिबाद चर्किएको थियो । 

 अस्पताल निर्माणमा भन्दा पनि भुमाफियाको जालोमा स्थानीय सरकारका प्रतिनिधि र केही राजनैतिक दलका स्थानीय नेताहरू लागि परेकोले जनहित भन्दा गोजिहितमा काम हुन लागेको भन्दै बिवाद चर्किदै जाँदा हल्दिवारी गाउँपालिकामा बन्ने १५ सैयाको आधारभूत अस्पतालको बिबाद उच्च अदालत इलाममा मुद्दा समेत परेको थियो। 

स्थानीय दिल केसर थापाको नामबाट अदालतमा मुद्दा दायर गरिएको थियो । तत्काल कुनै काम कार्वाही अघि नबढाउन हल्दिवारी गाउँपालिकालाई अदालतले आदेश गरेपछि त्यही मुद्दाका कारण हल्दिबारीमा बन्न लागेको अस्पताल केही बर्ष नबन्न सक्ने देखिएको थियो । तर,अदालतले गाउँपालिका स्तरीय अस्पताल पालिकाको केन्द्र वा सबैलाई पायक पर्ने ठाउँमा राख्न फैसला सुनाएपछि शिलान्यास गरेको ठाउँभन्दा करिब ३ किलोमिटर दक्षिण पूर्वमा हल्दिबारी गाउँपालिका वडा १ को गरमकाली स्कुल क्षेउमा  निमार्णको काम शुरु भएको हो। लामा÷युनिभर्सल जोईन भेन्चर दमक झापाले २०७८ साउन ८ गते हल्दिबारी गाउँपालिकासँग ११ करोड १८ लाख २२ हजार ८७६ रुपैयाँ ०७ पैसा लागतमा आगामी २०८१ असार ३० गते निर्माण  सम्पन्न गर्ने गरी सम्झौता गरेको छ ।

अहिले अस्पतालको निमार्ण कार्यको शुरूवात भएको छ।  ‘यो अस्पताल हल्दिबारी १ को गोलधाप स्वास्थ चौकीको नाममा आएको भएता पनि केही गोलधापमा अस्पताल नबनोस भन्ने सोच भएकाहरुले यसलाई विभिन्न बाहाना बनाएर अन्यत्र लान खोजेका थिए’ हल्दिबारी १ का वडा अध्यक्ष त्रिलोचन सापकोटाले भने ‘ मेरो विशेष अगुवाईमा गोलधाप स्वास्थ चौकीमा बनाउन नसके पनि हल्दिबारी १ मा बनाउन सफल भएका छौं।’ उनले थपे ‘मलाई पनि हल्दिबारीको नागरिकलाई पायक बनाउने कुरामा खासै फरक पर्ने थिएन, तर जबरजस्ती नाम तोकेरै आएकोलाई बहाना बनाएर अन्यन्त्र लान खोज्दा बैठकमा लामो बिबादसमेत ब्यहोर्नु पर्यो, तर पनि अस्पताल निर्माणको काम शुरू भएको छ, खुसी लागेको छ ।’