हल्दिबारी ।

झापाको हल्दिबारी गाउँपालिकाले कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोन समुदायमा फैलिन नदिन भोलीदेखि (शुक्रवार) निःशुल्क एन्टीजोन परिक्षण गर्ने भएको छ ।  

 नयाँ भेरियन्ट ओमीक्रोन समुदायमा बढ्दो क्रममा रहेकाले संक्रमणलाई रोकथाम, नियन्त्रण र उपचार ब्यवस्थापनलाई सरल बनाउने उद्वेश्यका साथ संक्रमणको अवस्था पत्ता लगाई आईसोलेट गरी कोरोना सर्ने प्रक्रियालाई रोक्ने रणनीति अनुसार गाउँपालिकाले निःशुल्क एन्टीजोन परिक्षण गर्न शुरू गरेको हो ।

हप्ताको प्रत्येक शुक्रबार गोलधाप स्वास्थ्य चौकी हल्दिबारी १ मा, सोमबार जलथल स्वास्थ चौकी बडाबारी र बुधबार हल्दिबारी स्वास्थ चौकी हल्दीबारी–२ मा दिउसो ११ बजेदेखि १२ बजेसम्म स्वाव संकलन गरिने  स्वास्थ शाखा प्रमुख पुष्कर निरौलाले बताए । उनका अनुसार कोरोना संक्रमितको सम्पर्कमा रहेका ब्यक्ति तथा कोरोनाको लक्षण भएका ब्यक्तिहरु ज्वरो आएको, घाँटी दुखेको, खोकी लागेका, रूघा लागिरहेका ब्यक्तिको एन्टीजोन परिक्षण गरिने छ।

यस्ता ब्यक्तिहरूले आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई परिक्षण गराउन र समुदायमा फैलिनबाट जोगाउन मद्दत मिल्ने उनले बताए । एन्टीजोन परिक्षण भएको शरिरमा कोरोना भएको वा नभएको छिटो पत्ता लगाउने प्रबिधि हो । यसको रिपोर्ट छिटो आउँछ। समुदायमा कोरोना फैलिएको छ वा छैन थाहा पाउन मदत मिल्ने गर्छ ।