झापा ।
झापाको हल्दिबारी गाउँपालिका भित्र रहेका सहकारीको विवरण गाउँपालिकाको सहकारी शाखासँग नभएको खुलेको छ । गाउँपालिकाको क्षेत्रधिकार भित्र रहेका सवै सहकारीलाई नियमन र सुचिकृत नगरेको तथ्य खुलेको हो ।
पछिल्लो समय सहकारी मार्फत सदस्यहरू ठगिएको, आफ्नो बचतहरू समेत फिर्ता माग्दा सहकारी संस्थाले फिर्ता गर्न आनाकानी गरेको र फिर्ता गर्न नसकिरहेको समाचार बेला मौकामा आउने गरेका छन् ।
गाउँपालिका कार्यालयमा सुदिप गिरीले सबै सहकारी संस्थाहरूको विवरणको सूचना माग गरेपछि यो तथ्य खुलेको गिरीले बताए । गाउँपालिकाले दिएको सूचना अनुसार गाउँपालिका सहकारी शाखासँग १३ वटा सहकारी संस्थाको मात्रै तथ्यांक रहेको जनाइएको छ ।
तर, यता हल्दिबारीका सबै वडा कार्यालय मार्फत सहकारी संस्थाहरूको विवरण अनुसार हल्दिबारी १ गोलधापमा जम्मा ९ वटा संस्था संचालनमा रहेको सूचना अधिकारी तथा वडा सचिव छविकला चाम्लिङ राईले जानकारी दिइन् ।
हल्दिबारी वडा न २ मा ७ वटा सहकारी संस्था सञ्चालनमा रहेको जानकारी वडा सदस्य खकेन राजवंशीले गराए । हल्लिबारी ३ मा भने ४ वटा सहकारी संस्था संञ्चालनमा रहेको वडा सचिव राजन खतिवडाले जानकारी दिए । त्यस्तै हल्दिबारी ४ को सूचना अनुुसार वडामा जम्मा ६ वटा सहकारी संस्था सञ्चालन रहेको छ । हल्दिबारी ५ मा भने शान्ति बाटिका महिला कृषि सहकारी एउटा मात्र सहकारी रहेको जानाइएको छ ।
गाउँपालिकाले आफ्नो क्षेत्रधिकार भित्र रहेको सबै सहकारी संस्थाहरूलाई अहिलेसम्म कुनै अनुगमन तथा नियमन नै गरेको पाइएको छैन सहकारी संस्थाको वितिय अवस्थाको बारेमा समेत जानकारी समेत पाइएको छैन ।
जनताको नजिकको सरकारको रूपमा रहेको स्थानीय तहले आफ्नो क्षेत्रधिकारको बितिय कार्य गर्ने संघ÷ संस्थाको विवरण समेत नराख्दा सहकारीमा आवद्ध सर्वसधारणकोे लगानी जोखिममा देखिएको छ । हल्दिबारीमा च्याउसरी उम्रिएका सहकारी संस्थाले गरिब निमुखा जनताले खाई नखाई बचत गरेको रकम असुरक्षित हुने हुने अवस्थामा देखिएको छ ।
यता गाउँपालिकाका प्रशासन शाखा प्रमुख राजन न्यौपानेका अनुसार गाउँपालिकाका सहकारी बिज्ञ नभएका कारण सहकारीको सवै विवरण छैन । जिल्लाले दिएको ११÷१२ वटाको विवरण मात्र भएको उनले बताए । सहकारी ऐन दर्ता र पास गरेको बताउँदै अव त्यसका लागि कार्य सुरु गर्ने प्रशासन प्रमुख न्यौपानेले जानकारी दिए ।
एकजना कर्मचारीलाई सहकारी संस्था हेर्न जिम्मा दिएको बताउँदै त्यसका लागि तालिममा पठाइएको जानकारी न्यौपानेले दिए ।