- शर्मिला पुरी
सुरुङ्गा ।
झापाको झापा गाउँपालिका वडा नं. ४ स्थित खयरबारीमा अतिविपन्न परिवारकोे स्वास्थ्यलाई ध्यानमा राखेर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको छ ।
वडा नं.४ वडा अध्यक्ष राजुजङ्ग भारतीको पहल तथा स्थानीय बलबहादुर कटुवालले १२ लाख मूल्य बराबरको २ कठ्ठा जग्गा प्रदान गरेपछि स्वास्थ्य सेवा केन्द्र मा स्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको हो ।
स्वास्थ्य प्रयोगशालाको उद्घाटन झापा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि जयनारायण शाहले बुधवार गरेका हुन् । प्रयोगशालामा रगत, दिशा, पिसाव, खकार, टिभीलगायत परिक्षणसहित स्वास्थ्य सेवा केन्द्रमा १२ प्रकारको रोगको परिक्षण हुने बताइएको छ ।
वडा अध्यक्ष भारतीको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि झापा गाउँपालिकाका अध्यक्ष शाह रहेका थिए । कार्यक्रममा विशिष्ट झापा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्मा, अतिथि नेकपा एमालेका प्रतिनिधि गोपाल खत्री, कांग्रेसका फरमान सेख, झापा रेडक्रस उप शाखाका प्रमुख सुन्दरलाल गणेशलगायतको उपस्थिति रहेको थियो ।
वडा कार्यालयको सिलिङ्ग बजेट ३ लाख र अन्य थप गाउँपालिकाका अध्यक्षको पहलमा प्रयोगशाला स्थापना भएको वडा अध्यक्ष भारतीले बताएका छन् ।
जग्गादाता केशव कटुवालले स्वास्थ्य प्रयोगशाला सञ्चालनसँगै स्थानीयले आफ्नै गाउँमा स्वास्थ्य सेवा पाउने बताए । स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि स्थानीयले स्वास्थ्य सेवा लिन अन्यत्र जानु पर्ने बाध्यता हटेको उनले बताएका छन् ।