बिर्तामोड ।
शिक्षा बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड–४ ले सरकारी विद्यालयमा अध्ययनरत विपन्न समुदायका बालबालिकालाई स्वीटर वितरण गरेको छ । शिक्षासँग बालबालिका कार्यक्रम अन्तर्गत सहकारी संस्थाले बिर्तामोडको पञ्चरत्न माध्यमिक विद्यालयका विद्यार्थीलाई स्वीटर वितरण गरेको हो ।
पञ्चरत्न माध्यमिक विद्यालयका ८६ जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए । अध्यक्ष न्यौपानेसहित संस्थाका उपाध्यक्ष हेमराज मिश्र, सञ्चालक सदस्य चीजा राई, उषा राई, नवराज कडरिया र चैतुवारी सेवा केन्द्र प्रमुख कल्पना कोइराला स्वीटर वितरणका लागि विद्यालयमापुगेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र संग्रौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष न्यौपानेले बालबालिकाका लागि सहयोग गर्न सधैँ तयार रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका शिक्षा शाखा अधिकृत केसर खवासले बिपन्न समुदायका बालबालिकालाई न्यानो कपडा वितरण गरेर शिक्षा सहकारी संस्थाले प्रशंसनीय काम गरेको बताए।
उक्त अवसरमा सहारा नेपालसहित दाता दीपा प्रसाई र उनको समूहले उपलब्ध गराएको स्वीटर थप २ सय २७ जना विद्यार्थीलाई वितरण गरिएको व्यवस्थापन समितिका अध्यक्ष संग्रौलाले जानकारी दिए।
यसअघि शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले झापाको अर्जुनधारामा रहेको अपाङ्ग बालशिक्षा सरोकार केन्द्रमा आश्रित बालबालिकालाई बाल दिवसको अवसर पारेर खाद्यान्न तथा दैनिक उपभोग्य र स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।