बिर्तामोड ।

 नेपाल सरकारको १६ लाख र जिल्ला समन्वय समिति झापाको ८ लाख रुपैयाँबाट निर्माण भएको २ कोठे भवनको उद्घाटन भएको छ । झापा बिर्तामोड–४ मा रहेको अनारमनी आधारभूत विद्यालयको नवनिर्मित भवनको उद्घाटन बिहीवार बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले गरेको हुन् । 

विद्यालयमा आइसीटी कक्ष, खाजा घरको पनि उद्घाटन गरिएको थियो भने विद्यार्थीलाई टाई र बेल्ड बितरण गरिएको थियो । विद्यालयका प्रधानाध्यापक टंक कटुवालका अनुसार कम्प्युटर कक्ष(आइसीटी) पाँच लाख रुपैयाँको लागतमा तयार गरिएको हो । बिर्तामोड नगरपालिकाको सहयोगमा आइसीटी कक्ष तयार भएको बताइएको छ ।

सहारा नेपालसंगको साझेदारीमा चार लाख रुपैयाँको लागतमा खाजा घर तयार गरिएको छ । सहारा नेपालको तर्फबाट दुई लाख रुपैयाँ र बिर्तामोड नगरपालिकाले दुई लाख रुपैयाँ प्रदान गरेसंगै खाजा घर निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक कटुवालले बताए ।

कक्षा ७ सम्म विद्यालयमा अध्ययनरत २ सय ६९ जना विद्यार्थीलाई टाई बेल्ड समेत बितरण गरिएको छ । यो संगै विद्यालयमा अध्ययनरत उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने खेल क्षेत्रमा उत्कृष्ठ हुने सबै विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।