शरणामती ।

झापाको झापा गाउँपालिका–६ शरणामतीमा जारी दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगितामा आमचोक गाउँपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिका विजयी भएका छन् ।

आमचोकले पहिलो खेलमा झापाको अर्जुनधारा नगरपालिकालाई २५–१७, २५–१३ र २५–१५ ले पराजित गरेको हो । सो खेलको म्यान अफ दि म्याच आमचोकका रोमन बस्नेत भए । त्यस्तै दोश्रो खेलमा भद्रपुर नगरपालिकाले टेम्के मैयुङ्ग गाउँपालिका भोजपुर लाई २५–१७, २५–१७ र २५–२० को सोझो सेटमा पराजित गरेको थियो ।

सो खेलमा उत्कृष्ट प्रदर्शन गरेका भद्रपुरका भरत यादव म्यान अफ दि म्याच घोषित भए । त्यस्तै बुधबार सम्पन्न अन्तिम खेलमा आयोजक झापा गाउँपालिकाले इलामको चुलाचुली गाउँपालिकालाई २५–१३, २५–२० र २५–२१ को सोझो सेटमा पराजित गरेको थियो । झापाका रोशन शिवाकोटी म्यान अफ दि म्याच घोषित भए ।

जितसँगै आमचोक, भद्रपुर र झापा गाउँपालिका प्रतियोगिताको अघिल्लो चरण प्रवेश गरेका छन् । झापा गाउँपालिका सेमिफाइनलमा प्रबेश गरेको छ भने आमचोक र भद्रपुर क्वाटर फाइनलमा प्रबेश गरेका छन् । प्रतियोगितामा बिहीबार पनि तीन खेल हुनेछन् । पहिलो खेलमा दमक नगरपालिका र षडानन्द नगरपालिका भोजपुर आमनेसामने हुनेछन् । प्रतियोगिताको विजेताले नगद एक लाख एकाउन्न हजार तथा उप–विजेताले नगद एक लाख हात पार्नेछन् ।

प्रतियोगितामा एक नम्बर प्रदेशका १६ टिमको सहभागिता रहेको छ ।