झापा ।

 नेपाल विद्युत प्राधिकरणले देशभरका सबै विद्युत महसुल काउन्टर (आय संकलन ) ५ दिनका लागि बन्द गर्ने भएको छ ।प्राधिकरणले समायोजन भएको विद्युत महसुलको बिलिङ प्रणाली मिलाउन महसुल संकलन हुने काउन्टरहरू बन्द गर्न लागेको जनाएको छ ।

परिवर्तित नयाँ विद्युत महसुल दरको एम–पावर बिलिङ प्रणाली लागु गर्न त्यसको अद्यावधिक गर्नु पर्ने हुँदा काउन्टरबाट दिइने सेवा अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विद्युत महसुल काउन्टरहरू पुस १ देखि ५ गतेसम्म पाँच दिन बन्द हुनेछन् । एम–पावर बिलिङ्ग प्रणाली लागु गर्न तथ्यांकको अद्यावधिक गर्ने कार्य पूरा भएपछि  सबै वितरण  केन्द्रका महसुल काउन्टरहरूबाट नियमित सेवा सुचारु हुने प्राधिकरणले जनाएको छ । विद्युत नियमन आयोगको गत कात्तिक ८ गतेको निर्णयानुसार विद्युतको महसुल दर समायोजन गरेको थियो । 

आयोगले सबै वर्गका ग्राहकले लाभ पाउने गरी समायोजित महसुल दर मंसिर महिनाबाट लागू भएको छ । प्राधिकरणले पुस महिनामा ग्राहकलाई समायोजन भएको दर अनुसार खपत भएको विद्युत महसुलको बिल दिनेछ । प्राधिकरणका वितरण केन्द्रहरूले निषेधाज्ञा खुलेपछि विद्युत महसुल संकलन कार्यलाई तीव्र पारेका थिए । महसुल तिर्न अटेरी गर्ने ग्राहकको लाइन काटेर असुल्ने कार्य पनि भइरहेको छ ।