भद्रपुर । 

‘संस्कृति र सभ्यताको आधार, सुखी बालबालिका समृद्ध भद्रपुर नगर’ भन्ने  साथ प्रदेश नं १ को पहिलो बालमैत्री नगर भद्रपुर नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवसको सन्दर्भ पारेर सप्ताहव्यापी विविध रचनात्मक कार्यक्रम तय गरेको छ ।

आगामी पुस ७ गते मनाउन लागिएको दिवसको सन्दर्भ पारेर शनिबार बालबालिकाकै सहभागितामा प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर ८ स्थित श्रीकृष्ण द्वैयपायन वेद विद्याश्रमको हलमा नगरभित्रका अन्तर विद्यालयस्तरीय नृत्य प्रतियोगिता गरिएको हो ।

भद्रपुर नगरपालिका प्रमुख तथा बालमैत्री स्थानीय शासनयुक्त नगर समितिका संयोजक नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित प्रतियोगितामा १७ वटा सामुदायिक तथा संस्थागत विद्यालयले सहभागिता जनाएका थिए ।

सहभागी विद्यालयमध्ये आधारभूततर्फ वीरेन्द्र माध्यमिक विद्यालय प्रथम, हिमाली माध्यमिक विद्यालय दोस्रो र सीता आधारभूत विद्यालय तेस्रो भएका थिए भने माध्यमिकतर्फ सगरमाथा माध्यमिक विद्यालय प्रथम, प्रज्ञा एकाडेमी दोस्रो र हिमाली माध्यमिक विद्यालय तेस्रो भएका थिए । विजयी विद्यालय तथा विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायकमा भद्रपुर नगरपालिकाका नृत्य प्रशिक्षक कृति राई र रोमन जोगी थिए ।