काठमाडौं ।
मलेसियाको मन्त्रिपरिषद्को बैठकले सबै क्षेत्रमा विदेशी कामदार लैजाने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण विश्वव्यापीरुपमा फैलिएपछि मलेसियाले सन् २०२० मार्च १८ देखि विदेशी कामदार भर्ना गर्न रोकेको थियो । मलेसियाले करिब दुई वर्षपछि विदेशी कामदारका लागि ढोका खोलेको हो ।
मलेसियाले यसअघि पहिलो चरणमा प्लान्टेशन भनिने रवर र पाम उद्योगमा मात्रै नयाँ विदेशी कामदार लैजान पाउने नीति लिएको थियो । शुक्रबार भएको नयाँ निर्णय अनुसार उत्पादन, सेवा क्षेत्र, कृषि, प्लान्टेशन र घरेलु कामदारको नयाँ भर्ना खुलाएको हो ।
नेपाली दूतावास मलिसियाका काउन्सिलर श्रम दिपक ढकालले नयाँ कामदारको एप्रुभल खुलेको विस्तृत जानकारी आउन नसकेको भन्दै मलेसियाको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर खुला गर्ने निर्णय भएको विभिन्न स्रोतबाट जानकारी आएको बताए ।
नेपाल र मलेसियाबीच भएको श्रम समझदारी अनुसार नेपालबाट कामदार पठाउन लाग्ने सेवा शुल्क, दुईतर्फी हवाई टिकट, भिसा तथा स्वास्थ्य परीक्षण शुल्क खर्च रोजगारदाताले व्यहोर्ने प्रावधान छ । मलेसियाले शुक्रबारदेखि ई–भिसा अनलाइन प्रणालीको शुरूवात गरेको छ ।