झापा ।
शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले शनिबार सदस्य सेवा केन्द्र दुर्गापुरमा प्रतिनिधि छनौट कार्यक्रमको आयोजना गरेको छ । सहकारी संस्थाको नवौं वार्षिक साधारणसभाका अवसरमा प्रतिनिधि छनौट गरिएको हो ।
छनौट भएका प्रतिनिधि मंसिर २४ गते आयोजना हुने साधारण सभाको माइन्युट प्रमाणीकरण कार्यक्रममा सहभागी हुनेछन् । संस्थाले सबै सेवा केन्द्रबाट क्षेत्रगत रुपमा इकाइ भेलाको आयोजना गरी प्रतिनिधि छनोट गरेको संस्थाका सचिव दीपेशकुमार धौराली बताए ।
प्रतिनिधि छनौट कार्यक्रममा बोल्दै कनकाई नगरपालिका वडा नम्बर १ का अध्यक्ष रोशन पोखरेलले सदस्यको हितमा शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले उल्लेखनीय काम गर्दै आएको बताए ।
शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले सदस्यको योगदानमा आधारित स्वास्थ्य उपचार कोष स्थापना गरिएको बताउँदै त्यसलाई सदस्यको हितमा खर्चिने जानकारी दिए । अध्यक्ष न्यौपानेले सहकारी विद्यालय सञ्चालनका लागि बिर्तामोड–२ मा खरिद गरिएको १० कट्ठा जग्गामा निकट भविष्यमा नै भौतिक पूर्वाधारको काम अगाडि बढाइने बताए ।
कार्यक्रममा सहभागी शेयर सदस्यलाई सेवा केन्द्र प्रमुख सुशीला ढकालले स्वागत गरेकी थिइन् । कार्यक्रममा संस्थाका लेखा समिति संयोजक युवराज निरौला, लेखा सदस्य यामनाथ खरेल, ऋण उपसमितिका संयोजक हेमराज मिश्र, सञ्चालक सदस्यहरु भगिरथा थापा, उमा राई, चीजा राई, शिक्षा उपसमितिका संयोजक रमेश पोखरेल लगायतको सहभागिता रहेको थियो ।