- उद्धव पुरी
बिर्तामोड ।
कोरोना महामारीका कारण जापान अध्ययनका लागि जान रोकिएका बिद्यार्थीलाई आउदो अप्रिलसम्ममा पठाइने तयारी भएको छ ।
सन् २०२० अप्रिल सेसनदेखि हालसम्म सीओई प्राप्त गरेका साथै भिषा लिएका बिद्यार्थीलाई जापान लाने तयारी भएको जापानस्थित नागोया आईउइओ तथा खान्क्यु एकाडेमीका अन्र्तराष्ट्रिय विभागीय प्रमुख मनी खड्काले बताएका छन् ।
कोरोना महामारीका कारण विश्वभरबाट ३ लाख ७५ हजार बिद्यार्थी अध्ययनका लागि जापान जानबाट बञ्चित भएको खड्काले बताए । उनका अनुसार नेपालबाट मात्र करिब ८ देखि १० हजार बिद्यार्थी जापान जानबाट बञ्चित भएका छन् ।
‘कोरोना कहर हट्दै गएकाले केहि सहज हुँदै थियो’ खड्काले भने ‘तर, कोरोना भाइरसको नयाँ ‘ओम्रिकोन’ भेरियन्टका कारण जापान सरकारले एक महिनालाई रोक लगाएको छ ।’ उनले त्यो निर्णयपछिको अवस्थालाई हेरेर बिद्यार्थीलाई जापान लगिने बताए ।
प्रक्रिया पूरा गरेका बिद्यार्थीहरुलाई अप्रिल भित्रमा जापान लाने तयारी भइरहेको उनले जानकारी दिए ।
‘अध्ययनका लागि जापान जाने बिद्यार्थीलाई त्यहाँको सरकारले हप्ताको २८ घण्टा काम गर्ने अनुमति दिएको छ’ खड्काले भने ‘ त्यो समयलाई अझै बढाउने प्रक्रिया अघि बढेको छ ।’
उनले जापान अध्ययनका लागि जाने बिद्यार्थीले प्रमुख कुरा भाषामा ध्यान दिन जरुरी रहेको बताए । त्यस्तै बिद्यालयको हाजिरीलाई ध्यान दिन जरुरी भएको उनको भनाई थियो । ‘८० प्रतिशत बिद्यालयमा हाजिरी हुनु पर्ने जापानी एमिग्रेशनको नियम छ’ उनले भने ‘तर, बिद्यार्थीले १०० प्रतिशत नै हाजिरी गर्ने प्रयास गर्दा राम्रो हुन्छ ।’ जापानी भाषा बेसिक ‘एन फाइव लेभल’ जानेकाले जापानका लागि निवेदन गर्न पाउने नियम भएपनि यहाँ नै ‘एन फोर लेभल’ भाषा अध्ययन गरेर जाँदा उपयुक्त हुने उनले बताए ।
बिद्यार्थीले जापान अध्ययनका लागि निवेदन दिदा न्युनतम १८ लाख रुपैयाँसम्मको बैंक ब्यालेन्स र एकबर्षको बैंकको स्टेटमेन्ट साथै नाता प्रमाणित देखाउनु पर्ने सोहि सिलसिलामा झापा आएका खड्काले जानकारी दिए ।