लक्ष्मीपुर । 

झापाको बिर्तामोड–४ मा प्रमुख कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको लक्ष्मीपुरले सेवा केन्द्रगत साधारणसभा गरेको छ । 

सेवा केन्द्रले विहीवार लक्ष्मीपुरस्थित विहीवारे बजारको दुर्गा पञ्चायन मन्दिरमा संस्थाको ११ औं बार्षिक साधारणसभा अन्तरगत सेवाकेन्द्रगत साधारणसभा गरेको हो । 

संस्थाकी सञ्चालक समिति सदस्य लीला अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिका वडा नं. ८ अध्यक्ष प्रेम कटुवालको प्रमुख आतिथ्य रहेको थियो । सेवा केन्द्र प्रमुख इन्दिरा भट्टराईले स्वागत गरेको कार्यक्रमलाई सञ्चालन संस्थाका विभागीय प्रमुख मिनबहादुर अधिकारीले गरेका थिए । 

कार्यक्रममा संस्थाकी सञ्चालक समिति सदस्य अधिकारीले संस्थाको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७७÷०७८ असार समान्तसम्ममा संस्थामा ३७ हजार ५ सय ६६ जना शेयर सदस्य, शेयरपुँजी २४ करोड ६६ लाख २१ हजार ८ सय रुपैयाँ पुगेको छ । त्यस्तै बचत संकलन ५ अर्व ६५ करोड ९२ लाख ९८ हजार ६ सय ४३, बचत फिर्ता ४ अर्व ८२ करोड १२ लाख ४० हजार २ सय ५२, बचतमा रहेको रकम ८३ करोड ८० लाख ५८ हजार ३ सय ९१, कर्जा लगानी ३ अर्व ९६ करोड १ लाख ७७ हजार २ सय ६८ रुपैयाँ रहेको छ । त्यस्तै संस्थाले २ करोड ४८ लाख ११ हजार ९ सय ७९ रुपैयाँ नाफा गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । 

त्यसैगरी संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत सदस्य राहत कार्यक्रम १ करोड ३६ लाख ७३ हजार ५ सय ५२ रुपैयाँ, सदस्यको स्वास्थ्यउपचारमा ४७ लाख ५ हजार ७ सय ६७, बिभिन्न रोगका कारण मृत्यु भएका सदस्यको नाममा रहेको कर्जा मिनाह ५५ लाख १६ हजार १ सय ६६ रुपैयाँलगायत गरेको प्रतिवेदनमा छ । 

कार्यक्रममा प्रमुख अतिथि कटुवाल, कनकाई नगरपालिका–८ कार्यपालिका सदस्य सुनिता खरेल सिग्देल, पत्रकार गोपाल काफ्लेलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

झापाका सवै पालिका, इलामका ४ र मोरङ ३ पालिका गरी हाल संस्था ३० वटा सेवाकेन्द्रगत साधारणसभा हुँदै गरेको बताइएको छ । हाल संस्थाको ३३ वटा सेवा केन्द्र रहेको जनाइएको छ । संस्थाका मुल साधारणसभा मंसिर २५ गते हुनेछ ।