बिर्तामोड ।
शिक्षा बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड–४ ले कोरोना संक्रमणबाट ज्यान गुमाएका संस्थाका सदस्यका परिवारका बालबालिकालाई अध्ययनमा सघाउने भएको छ ।
शिक्षालाई प्राथमितामा राखेर कार्यसम्पादन गर्दै आएको संस्थाले संस्थाका सदस्यका छोराछोरीका लागि विविध शिक्षाका कार्यक्रमहरुसमेत अघि सारेको हो ।
संस्थाले तिम्ल्याहा छोराछोरीको पढाईमा पनि सहयोग गर्ने गरी शिक्षा बाल सहायता कोष समेत स्थापना गरेको संस्थाका अध्यक्ष सुव्रत न्यौपानले बताए । त्यसैगरी संस्थाले शिक्षाको अभिभावकत्व समुदायको दायित्व, ल्यापटपमा सहुलियत कर्जा, शैक्षिक भ्रमण, नेत्रहीन बिद्यार्थीका लागि पाँच रुपैयाँ अभियान, बाल क्लबलाई सहयोगलगायतका शिक्षाका कार्यक्रम ल्याएको अध्यक्ष न्यौपानेले बताए ।
शिक्षासँग बालबालिका अन्तरगत संस्थाको कार्यक्षेत्रभित्र बाल अवास गृह र गुरुकुलमा रहेका बालबालिकालाई खाद्यन्न, लत्ताकपडा र शैक्षिक सामाग्री वितरण गरिने संस्थाका सचिव दिपेश धौरालीले जानकारी दिए ।
संस्थाले बुधवार बिर्तामोडमा नवौ बार्षिक साधारणसभाका लागि प्रतिनिधि छनौटसमेत गरेको छ । संस्थाका अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा ४ का अध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाकी सञ्चालक समिति सदस्य चिजा राईले गरेको कार्यक्रमको सञ्चालन सचिव धौरालीले गरेका थिए ।