झापा।
कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगिता आज (मंगलबार) देखि सुरु भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिताको पहिलो खेलमा बाह्रदशी गाउँपालिका विजयी भएको छ।
कमल गाउँपालिकालाई १९–२५, १५, २५ र २२–२५ को सेटमा पराजित गर्दै बाह्रदशी गाउँपालिका विजयी भएको हो । प्रतियोगिताको म्यान अफ दि म्याच बाह्रदशीका सुदिप कार्की घोषित भएका छन् । उनलाई नगर दुई हजारसहित मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।
त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा बुद्धशान्ति गाउँपालिकालाई २०–२५, १८–२५ को सोझो सेटमा पराजित गर्दै विर्तामोड नगरपालिका प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । झापा जिल्ला भित्रका पालिका स्तरीय हुने यस प्रतियोगितामा झापा जिल्लाभरीका १० वटा पालिकाहरुको सहभागिता रहेको खेल संयोजक सुदिप राईले बताएका छन् ।
संयोजक राईका अनुसार प्रतियोगितामा बाह्रदशी गाउँपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, कन्काई नगरपालिका, दमक नगरपालिका, गौरादह नगरपालिका, भद्रपुर नगरपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र विर्तामोड नगरपालिकाको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेता टोलिले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५१ हजार रुपैया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने संयोजक राईले बताए ।
प्रतियोगिता अन्तर्गत भोलि बुधबारको पहिलो खेलमा शिवसताक्षी नगरपालिकाले कन्काई नगरपालिकाको सामना गर्ने छन् भने गौरादह नगरपालिकाले भद्रपुर नगरपालिकासँग खेल्ने समिति सहसंयोजक तेजकुमार राईले बताए ।
प्रतियोगिताको पहिलो चरणमा वाइ पाएर बसेको झापा गाउँपालिकाले विर्तामोड नगरपालिकाको सामना गर्नेछन् भने दमक नगरपालिकाले शिवसताक्षी र कन्काईबीच भएको खेलको विजयी टिमको सामना गर्नेछ ।