दमक । 

नेकपा (एकीकृत समाजवादी) सम्बद्ध नेपाल खेलकुद महासंघ प्रदेश १ कमिटीको प्रदेश स्तरीय पहिलो भेला झापाको दमकमा हुने भएको छ । २० मंसिर २० गते  हुने भेलालाई पार्टीका  अध्यक्ष माधवकुमार नेपाल, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

खेलकुद महासंघका केन्द्रीय नेता तथा प्रदेश १ का अध्यक्ष तथा झापा जिल्ला खेलकुद संघका पूर्वअध्यक्ष शंखर थापाका अनुसार प्रदेश १ का १४ जिल्लाका खेलाडीहरुको बृहत भेलाले प्रदेश स्तरीय कमिटी गठन गरिने छ । ५१ सदस्यीय कमिटीमा १ अध्यक्ष, तीन उपाध्यक्ष, १ सचिव, २ सहसचिव र कोषाध्यक्ष सहित सदस्यहरु रहने छन् । 

थापाले भेलामा नवगठित कमिटी र सहभागि खेलाडीहरुलाई पार्टीका केन्द्रीय अध्यक्ष, तथा पूर्वप्रधानमन्त्री नेपालसहित प्रदेश १ का मुख्यमन्त्री राई, राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव केशब कुमार बिष्ट लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी गराए ।

 कार्यक्रमको व्यवस्थापनका नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीले जिम्मेवारी पाएको र नेपाल खेलकुद महासंघ जिल्ला कमिटी झापा, अखिल फोर्स दमक नगर कमिटी, युवा संघ दमक नगर कमिटीले स्वयसेवक तथा प्रचार प्रसारको जिम्मेवारी प्रदान गरिएको छ । 

त्यस्तैं, भेलामा विभिन्न खेलका खेलाडीहरुले आ–आफ्नो खेलको प्रर्दशन गरिने कार्यक्रम रहेको छ । भेलामा खेल प्रर्दशन सम्बन्धी खेल क्षेत्रका प्रशिक्षक र अगुवावहरुसँग परामर्श गरिने समेत छलफल भएको एकीकृत समाजवादी दमक नगर अध्यक्ष महेश घिमिरेले जानकारी दिए ।

पार्टीको दमक सम्पर्क कार्यालयमा आज आयोजित अन्तक्रियात्मक बैठकमा केन्द्रीय सदस्य तथा झापा जिल्ला कमिटी इन्चार्ज इन्द्रबहादुर बुडाथोकीले प्रदेश स्तरीय भेलालाई सम्पन्न गर्न एकजुट हुन निर्देशन दिए ।