- उद्धव पुरी
गोलधाप ।
झापाको बिर्तामोड–४ मा प्रमुख कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देस्यीय सहकारी संस्थाले सञ्चालन गर्दै आएको ग्रामिण सामुदायिक बिधुत कार्यक्रम नेपाल बिद्युत प्राधिकरणलाई हस्तान्तरण गर्ने भएको छ ।
बिधुत प्राधिकरणले ल्याएको नयाँ छुट सम्बन्धि अवलम्वन तथा व्यवस्थापन संस्थाको पहुँच भन्दा बाहिर भएकाले उपभोक्ताको मागलाई ध्यानमा राख्दै प्राधिकरणलाई हस्तान्तरण गर्न लागिएको हो ।
संस्थाले शनिबार गोलधापमा सेवा केन्द्र एकाई तथा बिधुत उपभोक्ताको भेला गराएर प्राधिकरणलाई हस्तान्तरण गर्ने निर्णय पारित गरेको छ । संस्थाका अध्यक्ष कृष्ण पौडेलले बिधुत प्राधिकरणले ल्याएको नयाँ नीतिमा ग्रामिण सामुदायिक बिद्युत उपभोक्ताका बिषयमा छुटको ब्यवस्थापन गर्न असहज हुने बताए । साथै केहिबर्ष अघिदेखि उपभोक्ताको माग बिद्युत प्राधिकरणलाई बुझाउने भएकाले पनि उपभोक्ताको मागलाई ध्यानमा राखेर बिद्युत प्राधिकरणलाई बुझाउन लागिएको अध्यक्ष पौडेलले बताए ।
ग्रामिण सामुदायिक बिधुत कार्यक्रम अन्तरगत हल्दिबारी र बाह्दशीका केहि स्थानका एकहजार एकसय उपभोक्ताले बिद्युत प्रयोग गर्दै आएको संस्थाकी गोलधाप सेवा केन्द्रकी प्रमुख धनकुमारी बस्नेतले जानकारी दिइन् । सो क्षेत्रमा सञ्चालित उक्त कार्यक्रम ३ वटा ट्रान्सफमर नेपाल सरकारको ८० र उपभोक्ताको २० प्रतिशत त्यस्तै ३ वटा ट्रान्सफमर नेपाल सरकारको ९० र उपभोक्ताको १० प्रतिशतमा जडान गरिएको बताइएको छ ।
सोही कार्यक्रमकाबीच संस्थाले १४ औ बार्षिक साधारणसभाको प्रतिनिधि छनौट समेत गरेको छ । कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन सञ्चालक समिति सदस्य सुशिल दाहालले प्रस्तुत गरेका थिए ।
आर्थिक बर्ष २०७७÷०७८ सम्ममा ७ हजार ६ सय ९९ शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ४ करोड २८ लाख ६० हजार २ सय रुपैयाँ पुर्याउन सफल भएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै निक्षेप प्राप्ती र भुक्तानी २० करोड ४७ लाख ५४ हजार ८ सय ५९ रुपैया, कोष १ करोड ६३ लाख ८२ हजार ४ सय ९९ रुपैयाँ ६४ पैसा, बाह्य ऋण १५ करोड ६ लाख ९७ हजार ६४ रुपैयाँ, ऋण लगानी ३१ करोड १२ लाख १६ हजार ७ सय ३० रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाकी सञ्चालक समिति सदस्य कमलादेबी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य डा. गौरीशंकर झा, सुमन खनाल, दिपेन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो । स्वागत सेवाकेन्द्र प्रमुख धनकुमारी बस्नेतले गरेको कार्यक्रमको सञ्चालन ब्यवस्थापक राजेश दाहालले गरेका थिए । संस्थाको बार्षिक साधारणसभा मंसिर २५ गते हुने बताइएको छ ।