बिर्तामोड ।
झापाको बिर्तामोडको बडी बिल्डिङले प्रदेश नं. १ स्तरीय शारीरिक सुगठन प्रतियोगितागर्ने भएको छ । बिर्तामोडमा आज(शनिबार) पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताका बिषयमा जानकारी दिइएको हो ।
नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले फागुन २७ र २८ गते ‘मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनसीप’ हुन लागेको हो ।
कोरोनाका कारण पछिल्लो २ बर्षदेखि कुनैपनि प्रतियोगिता हुन नसकेकोले नयाँ खेलाडी उत्पादन र प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक राम दाहालले जानकारी दिए ।
प्रतियोगिता ५५, ६०, ६५, ७० र ७५ केजीभन्दा माथि पाँच वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । सबै तौल समूहबाट विजेताबीच प्रतिस्पर्धा हुने संयोजक दाहालले बताए । उनीहरुबीच पनि प्रतिस्पर्धाबाट च्याम्पियन अफ द च्याम्पियन छानिने उनले बताए ।
प्रतियोगितामा पहिलो हुनेलाई तीन लाख, दोस्रोलाई दुई लाख, तेस्रोलाई एक लाख, चौथो ७५ हजार र पाँचौँ हुनेलाई ५० हजार नगद पुरस्कार दिइने आयोजक समितिका अध्यक्ष अर्जुन मैनालीले बताए । त्यस्तै, प्रतियोगिता अन्तरगत महिलाहरुको पनि शारीरिक सुगठन प्रतियोगिता हुनेछ । महिला प्रतियोगितामा प्रथम हुनेले १५ हजार, दोस्रोले १० र तृतीयले पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा प्रदेश नं. १ भरका एक सय जना पुरुष तथा महिला खेलाडी सहभागी हुने आयोजक समितिका अध्यक्ष मैनालीले बताए । उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न अनुमानित २० लाख खर्च हुनेछ ।
नयाँ खेलाडी उत्पादन र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिने भएकाले राष्ट्रिय तथा अन्तर्राष्टियस्तरका खेलाडीले प्रतियोगतामा सहभागी हुन नपाउने बताइएको छ । खेलाडीलाई प्रतियोगितामा सहभागी हुन तयारीका लागि कम्तीमा ९० दिन लाग्ने भएकाले सोही अनुसार प्रतियोगिताको मिति तय गरिएको अयोजकको समितिका सचिब ध्रुबराज निरौलाले जानकारी दिए ।
प्रतियोगिताको आयोजना बिर्तामोडस्थित ‘बडी ग्यारेज’ जीम हलले गरेको हो । पत्रकार सम्मेलनमा धिरज अग्रवाल, फुर्पा लामा, अंकित अधिकारीलगायतको उपस्थिति रहेको थियो ।