बिर्तामोड । 

झापामा १० औं राष्ट्रिय कर दिवस मनाउँदै कर सप्ताहको शुभारम्भ गरिएको छ ।आन्तरिक राजश्व कार्यालय भद्रपुरको आयोजना र विर्तामोड उद्योग वाणिज्य संघको संयोजनमा आज बुधबार विर्तामोडमा कर दिवस मनाइएको हो ।

विर्तामोडको मुक्तिचोकमा आयोजित राष्ट्रिय कर दिवस तथा कर सप्ताहको उद्घाटन प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए ।

कार्यक्रममा मेची अञ्चलको चार जिल्लाका एक÷एक जना सर्वाधिक करदातालाई सम्मान गरिएको थियो । झापा, इलाम, पाँचथर र ताप्लजुेङ्गका एक÷एक जनालाई सर्वाधिक कर तिरेको भन्दै सम्मान गरिएको थियो  । आन्तरिक राजश्व कार्यालय भद्रपुरको सेवाक्षेत्र साविक मेची अञ्चलका चार जिल्ला रहेका छन् । 

आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख शुभप्रसाद रिजालको अध्यक्षता भएको कार्यक्रममा राज्यले करको दर र क्षेत्र बढाउने भन्दा पनि प्रविधिको भरपूर उपयोग गरेर  करको दायरा फराकिलो बनाउनु पर्नेमा जोड दिइएको थियो ।

विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले स्वागत गरेको कार्यक्रममा  झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष टिकाराज ढकाल, केन्द्रीय सदस्य हेमराज ढकाललगायतले शुभकामना मन्तब्य राखेका थिए ।