बिर्तामोड ।

 सदस्यको आधारमा देशकै सबैभन्दा ठूलो सहकारीको रुपमा परिचित झापा बिर्तामोडस्थित चारपानेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।  

साकोसका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षता तथा संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रमुख आतिथ्यमा शनिवार(आज) चारपानेमा बार्षिक साधारणसभा सम्पन्न भएको हो । 

संविधान सभाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेम्वाङले पनि सहारा नेपाल साकोस प्रगति तथा प्रभाबकारिता देखेर र सुनेर सदस्य बन्ने घोषणा गरेका गरेका छन् ।

गत असार मसान्तसम्म एक लाख ५० हजार ३ सय ५४ शेयर सदस्य रहेको साकोसले यो आर्थिक वर्षमा दुई लाख सदस्य र १६ अर्बको वासलात बनाउने उदेश्य राखेको साकोसका कार्यकारी प्रमुख तथा सचिव महेन्द्रकुमार गिरीले बताएका छन् । 

संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव गिरीले गत आर्थिक वर्षमा ४५ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको  बताए । उनले प्रस्तुत गरेको प्रगति प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा ६० करोड रुपैयाँ नाफा कमाउने लक्ष्य रहेको छ । हाल संस्थाको वासलात १२ अर्ब ७१ करोड ८१ रुपैयाँ पुगेको छ भने आगामी १० वर्षभित्र एक खर्ब रुपैयाँको वासलात बनाउने लक्ष्य संस्थाको रहेको छ ।

प्रतिवेदनअनुसार संस्थाले रणनीतिक योजनाअनुसार कार्य क्षेत्र विस्तार गरी प्रदेश १ भरि १ सय ३७ वटा स्थानीय तहमा पुग्ने लक्ष्य राखिएको छ । हाल सहारा नेपाल छ वटा जिल्लामा पूर्ण रुपमा र पाँच जिल्लाका २÷२ वटा गरी ८० स्थानीय तहमा कार्य क्षेत्र रहेको छ । 

त्यस्तै, बचतमा बैंकको भन्दा उच्च ब्याजदर प्रदान गर्ने र ऋणमा बैंक सरह ब्याज दिने, सदस्यलाई मोबाइल बैंकिङ, क्युआर कोड, इटेलर, एटिएम सेवासहितको प्रविधिमैत्री सेवा उपलब्ध गराउने लक्ष्य लिइएको छ ।

एक अर्ब ४६ करोड ६५ लाख रुपैयाँ शेयर पुँजी रहेको सहाराले ‘म पनि उद्यमी’ कार्यक्रम अघि सार्दै आगामी चार वर्षभित्र १० हजार उद्यमी तयार गर्ने लक्ष्य लिएको सचिव गिरीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । यो कार्यक्रमले सम्भाव्यता अध्ययन, तालिम, सीप, ऋण, बजार र प्राविधिक ज्ञानमा सहयोग गर्नेछ ।

९४ करोड एक लाख रुपैयाँ जगेडा कोष रहेको संस्थाले अल्पसंख्यक र अति विपन्न सदस्यका सन्तानलाई चिकित्सा शिक्षा (एमबिबिएस) अध्ययनका लागि १० जनालाई सहयोग गर्ने लक्ष्यसहितको कार्यक्रम अघि सारेको छ । सो अन्तर्गत यो वर्ष दुईजनाबाट सुरु गरिनेछ ।

३७ करोड ५७ लाख रुपैयाँको अन्य कोष रहेको सहारा नेपालले संस्थाका दुई सय अति विपन्न सदस्यलाई रासन कार्डको माध्यमबाट चामल, दाल, तेल, नुन, चिनीमा ५० प्रतिशत अनुदान राहत उपलब्ध गराउने लक्ष्य लिइएको प्रतिवेदनमा उल्लेख छ ।

यो वर्षदेखि ‘मेरो गौरव, मेरो सहारा’ र ‘सधैँका लागि, सबैका लागि’ नयाँ नारा तय गरेको संस्थाले अघिल्ला वर्षहरुमा सञ्चालित स्वास्थ्य, सामाजिक, कृषिलगायतका कार्यक्रमहरुलाई अझ परिस्कृत गर्दै निरन्तरता दिने योजना बनाएको छ । सामुदायिक विकास कार्यक्रमअन्तर्गत उदयपुर र पाँचथरका विकट गाउँमा प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै यो वर्ष चारवटा वितरण गरिने गिरीद्वारा प्रस्तुत हुने प्रतिवेदनमा छ ।

संस्थाले सहारा हेल्थ सेन्टर स्थापना गरी आधारभूत डाइग्नोसिस सेवा प्रदान गर्न भवन निर्माण गर्ने योजना बनाएको छ । त्यस्तै, स्वास्थ्य र सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइनेछ । संस्थाले सदस्यहरुको उत्पादनलाई बजारीकरणमा सहज बनाउन सम्भाव्यता अध्ययन गरी कृषकका १० वटा उत्पादनलाई प्रशोधन, बजारीकरण र उत्पादन प्रविधिमा सहयोग गर्ने लक्ष्य लिएको छ ।संस्था सहकारी क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको सदस्य सुरक्षा प्रमाणीकरण प्रमाणपत्र प्राप्त गर्न सफल भएको गिरीले जानकारी गराएका थिए । 

सोही कार्यक्रमका बीच निजि र सहकारीसहितको नित खम्बे अर्थनीति मार्फत मुलुकलाई आत्मनिर्भर समृद्ध बनाउने यात्रामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पूर्वमन्त्री तथा सहकारी अभियन्ता केशवप्रसाद वडाललाई नगद एकलाख एकहजार रुपैयाँसहित राष्ट्रिय ब्यक्तित्व सम्मानसहित पुरस्कृत गरिएको थियो ।  संस्थाकी उपाध्यक्ष पवित्रा सुब्बाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराई गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले झापा अध्यक्ष चिन्तन पाठक, राप्रपा झापा अध्यक्ष केशबप्रसाद ओझा, जिल्ला सहकारी संघ झापा अध्यक्ष गणेश ढकाल, राष्ट्रिय सहकारी बैंक लेखा सुपरिवेक्षण समिति संयोजक लक्ष्मीप्रसाद उप्रेती,  सहारा नेपालका अध्यक्ष भरत गिरी, साकोसका संरक्षक नरनाथ गिरी, साकोस उपाध्यक्ष उपेन्द्रप्रसाद ओली, साकोस सहसचिब ज्ञानुनाथ मैनाली, कोषाध्यक्ष डम्बरबहादुर देउजा, लेखा सुपरिवेक्षण समिति संयाजक भरतकुमार भट्टराई, सञ्चालक समिति सदस्य भिमबहादुर गिरी, एकराज गिरी, हेमराज गिरी, चित्रकला ओली, सल्लाहकार संयोजक लक्ष्मण पाठक, सल्लाहकार सदस्य छबिलाल खतिवडालगायतको उपस्थिति रहेको थियो ।  

भिडियो पनि