बिराटनगर । 

झापाको सूर्योदय टेलिभिजनमा आवद्ध पत्रकार तिलक योञ्जन तामाङको उपचार सहयोगका लागि प्रादेशिक सञ्चार प्रतिष्ठानले ६५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको अध्यक्षतामा तिहार अघि बसेको प्रतिष्ठानको बोर्ड बैठकले उक्त निर्णय गरेको कार्यकारी निर्देशक यज्ञ शर्माले बताएका छन् । 

टेलिभिजनमा बेलुकीको सिफ्टमा समाचार वाचन गरी अर्जुनधारा १ खुदुनाबारीमा रहेको आफ्नो घर जाने क्रममा भदौ २ गते साँझ ८ बजे उनी मोटरसाइकल दुर्घटनामा परेका थिए । शनिश्चरे बजार नजिकै भएको मोटरसाइकल दुर्घटनाबाट उनको खुट्टा भाँचिएको थियो । 

खुट्टाको हड्डीलाई पूर्ववत अवस्थामा ल्याउन करिब ७ घण्टा लामो शल्यक्रिया गर्नुपरेको उनले जनाएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गरेर हाल करिब साढे तीन महिनादेखि बेड रेष्टमा रहेका तिलक विपन्न परिवारका सदस्य हुन् । 

सामाजिक रुपान्तरणसँगै पत्रकारिता पेसामा लागेर जीविकोपार्जनका लागि संघर्ष गरिरहेकै बखत दुर्घटनामा परेर गम्भीर घाइते भएकाले यतिबेला नियमित औषधी खानसमेत रकम अभाव हुन थालेको उनको दुःखेसो छ ।

घाइते पत्रकार तामाङको वर्तमान अवस्थाका बारेमा प्रादेशिक सञ्चार प्रतिष्ठानका सञ्चालक सदस्य गोपाल काफ्लेले बैठकमा जानकारी गराउँदै नियमावली २०७७ को दफा १६ बमोजिम रकम सहयोग गर्नुपर्नेमा जोड गरेका थिए । नियमावली अनुसार नै हुनेगरी प्रस्ताव आएकाले पत्रकार सुरक्षा कोषबाट खर्च लेख्ने गरी ६५ हजार रुपैयाँ सहयोग प्रदान गर्ने बैठकले निर्णय गरेको जनाइएको छ । 

पत्रकार तामाङ हिंडडुल गर्नसक्ने अवस्थामा नरहेकाले सोझै उनको बैंक खातामा रकम पठाउने ब्यवस्था मिलाइएको पनि कार्यकारी निर्देशक शर्माले जनाएका छन् ।