सुरुङ्गा ।
झापाको सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर मनिष तिमल्सिनाले आफूखुशी सूचना जारी गरी प्राथमिक स्वास्थ्य केन्द्रमा स्थानीय विदा दिएपछि सेवाग्राही प्रभावित भएका छन् ।
स्वास्थ्य केन्द्र जस्तो संवेदनशिल क्षेत्रमा भएको यो विदाका विषयमा डाक्टर तिमल्सिनासँग भएको फोन सम्पर्कमा उनले नगरपालिकाको निर्देशन अनुसार आँफूले सूचना जारी गरेको दावी गरेका छन् । तर स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकाको तर्फबाट स्वास्थ्य केन्द्रलाई विदा गर्ने विषयमा कुनै पनि सर्कुलर नभएको प्रष्ट पारेका छन् ।
मानवीय स्वास्थ्यका क्षेत्रमा २४ सै घण्टा सेवा उपलव्ध गराउँने प्रतिवद्धताका साथ कनकाई नगरपालिकाको मातहतमा संचालनमा रहेको स्वास्थ्य केन्द्रमा इञ्चार्जका रुपमा रहेका डाक्टर तिमल्सिनाले नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार भन्दै स्वास्थ्य केन्द्र विदा रहने सूचना जारी गरेपछि सेवाग्राही प्रभावित भएका हुन् । केही दिनको तिहार विदापछि आज सोमबार बिहान नौ बजेदेखि नै रेफर लिने, नियमित औषधि खाने, स्वास्थ्य परिक्षण गर्ने लगायतका विभिन्न सेवाका लागि उल्लेख्य सेवाग्राहीहरु स्वास्थ्य केन्द्रमा लाइनबद्ध भएका देखिन्थे ।
स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष नगर प्रमुख पोखरेलका अनुसार यो अवधिमा प्रदेश र केन्द्रले तोकेको सार्वजनिक विदा बाहेक अन्य दुई दिनको स्थानीय विदा अन्तर्गत नगरपालिका र वडा कार्यालयहरु मात्र बन्द रहने गरी सूचना जारी भएको जनाइएको छ । स्वास्थ्य केन्द्रमा सूचना टाँस गरी जारी भएको विदाको विषयमा आँफूलाई समेत जानकारी नभएको अवस्थामा सेवाग्राहीबाटै फोन आएपछि मात्र तत्काल सेवा सुचारु गर्न आँपूmले पहल गरेको नगर प्रमुख पोखरेलले जनाएका छन् । नगर प्रमुख पोखरेलको निर्देशनमा ढिलै भएपनि केही स्वास्थ्यकर्मी प्राथमिक स्वास्थ्य केन्द्रमा आएर सेवा प्रवाह गरेको बताइएको छ ।
मेडिकल अधिकृत डाक्टर तिमल्सिनाले केन्द्रको सूचना पार्टीमा आज कात्तिक २२ र २३ गतेलाई स्थानीय विदाको रुपमा सूचना टाँस गरी स्वास्थ्य केन्द्रमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीसहित सम्बन्धित सबैलाई कात्तिक २५ गतेसम्म विदा भएको जानकारी गराएका छन् । स्वास्थ्य केन्द्रको लेटर प्याडमा डाक्टर तिमल्सिनाले हस्ताक्षर गरेको सूचनामा २२ र २३ गतेको विदासहित कात्तिक २४ गते छठ पर्व र २५ गते फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक विदा दिइएको जनाइएको छ । यो अवधिमा इमरजेन्सी र बर्थिङ् सेवा मात्र संचालन हुने सूचनामा जनाइएको छ ।
केन्द्रको व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका नगर प्रमुख पोखरेलले यो समयमा सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति दुःख व्यक्त गर्दै स्वास्थ्य संस्था जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत जिम्मेवार पक्षलाई आफ्नो कामप्रति बफादार बन्न अनुरोध गरेका छन् ।