झापा । 

 मोरङ, झापा र उदयपुरमा भएको छुट्टा छुट्टै  सवारी दुर्घटनामा  ७ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । मोरङको केराबारी गाउपालिका –९ बेलचौरी उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को ४० प १७२७ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट जादै गरेको बा.१० च.४३०० नम्बरको स्कारपियो एक आपसमा ठाक्किएर दुर्घटना हुँदा मोटरसाईकल सवार तीनजना मध्ये दुईजनाको घटनास्थलमै  र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । 

मृत्यु हुनेमा चालक लेटाङ नगरपालिका –२ का ३० बर्षीय कमल कार्की र पछाडि सवार पथरी शनिश्चरे नगरपालिकाका ५५ बर्षीय तिलकबहादुर सुबेदी रहेका छन् । उनीहरुको घटना स्थलमै मृत्यु भएको थियो भने पछाडि सवार लेटाङ नगरपालिका– २ कि ४५ बर्षीया सिता कार्की घोपा धरानमा उपचारको मृत्यु भएको हो । गाडी र गाडी चालक लेटाङ नगरपालिका –२ का ४७ बर्षीय पुष्पबहादुर मगर ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेका छन् ।

  मोरङ रंगेली नगरपालिका ६ टकुवा–पिपल चौक भित्री सडक खण्डमा साईकल यात्री मोरङ सुनवर्षी नगरपालिका ६ पटियापाडाका ३० बर्षीय सत्रुघन साहको साईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भई उपचारको लागि  रंगेली अस्पताल लाने क्रममा मृत्यु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका –११ मेनचोकको  पुर्वतर्फ जादै गरेको  स १ ह १६२० नम्बरको अटो र पिपलचोकबाट पुर्वतर्फ जाँदै गरेको को १९ प ९६४६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्किदा  एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । 

मृत्यु हुनेमा मोटरसाईकल पछाडि सवार त्रियुगा नगरपालिका –११ का ८५ बर्षीय कुलप्रसाद भण्डारी रहेका छन् उनको न्युरो बिराटनगरमा उपचारको क्रममा राती साढे ९ बजे मृत्यु भएको हो भने मोटरसाईकल चालक सप्तरी कंचनपुर नगरपालिका १२ का ५२ बर्षीय कमल प्रसाद पोखरेल र अटो चालक उदयपुर चौदण्डीगढी नगरपालिका –७ का ४२ बर्षीय नरबहादुर कार्की सामान्य घाईते भएका छन् । उनीहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ । दुवै सवारी साधन जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेका छन् ।

 झापाको बिर्तामोड नगरपालिका –६ गिरीबन्दु टि–स्टेट अगाडि पुर्व–पश्चिम राजमार्गमा नम्बर नखुलेको रातो रंगको २ सय २० सिसि पल्सर  मोटरसाईकल र बिपरित दिशा तर्फ जाँदै गरेको प्र १–०१–०१४ प ६००७ नम्बरको स्कुटी एक आपसमा ठक्किएर दुर्घटना हुँदा स्कुटीमा सवार स्कुटी चालक मेची नगरपालिका –१० का ४२ बर्षीय डिल्ली कार्की, पछाडी सवार उनका छोरा १६ बर्षीय मनिष कार्की र अर्को मोटरसाईकल पछाडि सवार झापा हल्दिबारी गाउँपालिका –२ का २१ बर्षीय पिजेश लामा घाईते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । 

घाईते मध्ये स्कुटी पछाडि सवार रहेका ब्यक्तिको  राती ९ बजे उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा सम्लग्न रहेको अर्को मोटरसाईकल चालक झापा हल्दिबारी गाउँपालिका– २ का २५ बर्षीय उमेश लामा मोटरसाईकलसहित फरार रहेकाले खोज तलास भईरहेको छ ।

त्यसैगरी  झापा मेचिनगर नगरपालिका– १३ तेलिबारीस्थित पुर्व–पश्चिम राजमार्गमा पुर्वतर्फ जाँदै गरेको प्रदेश–१–०४–०१४ प.३३४५ नम्बरको मोटरसाईकल र सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ३९९५ नम्बरको मोटरसाईकल ठक्कर खाएर दुर्घटना हुँदा  ४ जना घाईते भएका थिए । घाईते हुनेहरुमा ३३४५ नम्बरको मोटरसाईकल चालक झापा मेचिनगर नगरपालिका –८ का २१ बर्षीय अनिष गिरी, पछाडि सवार सोही स्थानका १८ बर्षीय अभिषेक श्रेष्ठ, ३९९५ नम्बरको मोटरसाईकल चालक मोरङ उर्लाबारी नगरपालिकाका २१ बर्षीय निकेष शिवकोटी र पछाडि सवार झापा मेचीनगर नगरपालिका –८ का २१ बर्षीय प्रबिण मेचे रहेका छन् । घाईते मध्ये अभिषेक श्रेष्ठको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती साढे १२ बजे मृत्यु भएको छ भने बाकी ३ जना घाईतेहरुको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।