बिर्तामोड ।
मेन्स रुम रिलोडेड (एमआरआर) ले झापाको बिर्तामोडमा रक्तदान तथा समुहको टि–सर्ट वितरण गरेको छ । विश्वभर १८ बर्षमाथिका एक लाखवढि नेपाली युवाहरु जोडिएको समुह एमआरआर सामाजिक संजाल (फेसबुक) ले रक्तदान तथा समुहको टिसर्ट वितरण कार्यक्रमको आयोजना गरेका हुन् ।
सुरुवातमा रमाइलो, ठट्टाहरु मात्र गर्ने उदेश्यले खुलेको समुह बिस्तारै ग्रुपका रुपमा संख्या बढ्दै गएपछि एक अर्काबाट आउने नयाँ नयाँ योजना, बिचार, फरक फरक आउन थालेपछि अफ्ठ्यारोमा परेका जो कोहिलाई सहयोग गर्ने, रगतको अभावलाईपुर्ति गर्ने, भाइचारा कायम गर्नेलगायत योजनाहरु तयार गरेर सामाजिक कार्य गर्न थालिएको बताइएको छ । समुहले बिदेशमा जुन जुन देशमा आफ्ना सदस्य छन् त्यहाँ आफ्नो सक्रियता बढाउदै विभिन्न कार्यक्रमहरु आयोजना गर्न थालेपछि समुहको प्रभावकारिता बढ्दै गएको जनाइएको छ ।
समुह बिषेश गरेर मानविय सेवा, प्राकृतिक विपति, रक्त अभाव, असहाय, टुहुरा, सडक बालबालिकाहरु, विद्धाआश्रमका आमा बुबाको सारथी बन्न थालेको हो । ‘सबैका लागि दशै’, सडक बालबालिकाका लागि न्यानो कपडा वितरण, अनाथ आश्रममा रहने भाई बहिनीहरुका लागि विभिन्न समयमा उनीहरुको आवश्यकता अनुसारको कार्यक्रम, कोहि असक्त्त र असहायका निमित्त रकम संकलन, लाइब्रेरी स्थापनादेखि लिएर विभिन्न समाजमा खड्किएको आवश्यकता अनुसारको कार्यक्रम गर्दै समाजमा छुट्टै पहिचान बनाउन सफल बनेको समुहले जनाएको छ ।
समुहले झापामा विभिन्न समयमा आवश्यकता अनुसारको कार्यक्रम गर्दै आएको छ । अहिलेसम्म झापामा झण्डै दुई दर्जन सामाजिक कार्य गरिसकेको जनाइएको छ । सोही कार्यक्रम अन्र्तगत चरम रगतको अभावलाई मध्यनजर गर्दै लक्ष्मी पुजाको अवसर पारेर समुहले बिर्तामोडका समुहका सक्रिय सदस्य आशिष दाहालको संयोजकत्वमा रक्तदान कार्यक्रम गरेको हो ।
समुहले सञ्चालन गरेको रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको थियो भने समुहले एमआरआरको टि–सर्ट समेत बितरण पनि गरेको थियो ।
रक्तदान कार्यक्रम बिर्तामोड रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा गरिएको थियो । कार्यक्रममा समुहका झापाका विभिन्न स्थानबाट ५० वढि सक्रिय सदस्यको उपस्थिति रहेको थियो । रक्तदानपछि बितरण गरिएको टि–सर्ट लगाएर देउसीभैलो खेल्दै नाच्दै गाउँदै रमाइलो समेत गरिएको समुहका सक्रिय सदस्य मदन सापकोटाले जानकारी दिए । एमआरआरको स्थापना डिसेम्बर ११ तारिख २०११ मा भएको समुहले जनाएको छ ।