झापा ।
स्थानीयको तीव्र विरोधपछि हल्दिवारी गाउँपालिकाको न्यायिक समितिले नमुना इटाभट्टा सञ्चालन नगर्न आदेश दिएको छ । चारपाने १ मा दर्ता भएको इटाभट्टालाई जबरजस्ती पेलेर हल्दिबारी १ गोलधापमा पुनः सञ्चालन गर्न लागिएको थियो ।
न्यायिक समितिले मङ्गलवार नमुना इटाभट्टा उद्योगका सञ्चालक दिनेश चौलागाईको नाममा पत्र पठाउँदै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ८ को दफा ४७ को उपदफा २ (ञ) बमोजिम स्थानीयले उजुरी दिएपछि तत्काल भट्टाको कामकाज सञ्चालन नगर्न निर्देशन दिएको हो ।
चारपाने १ मा दर्ता भएको नमुना इटाभट्टालाई जवर्जस्ती हल्दिबारी १ साबिक गोलधाप ८ मा सञ्चालन गर्न लागिएको थियो । स्थानीयहरूको विरोधपछि उनीहरूको जनस्वास्थ्यलाई प्रत्यक्ष असर पर्ने गरी पेलेर इटाभट्टा सञ्चालन गर्न खोज्दा स्थानीयका तर्फबाट राजकुमार लिम्बु , गोविन्द घिमिरेलगायतले न्यायिक समितिमा उजुरी दिएका थिए ।
विगत केही महिनादेखि स्थानीयहरू निरन्तर सो इटाभट्टाको विरुद्धमा उत्रिएका थिए । चारपाने १ मा दर्ता भएको नमुना इटाभट्टा सञ्चालन गर्न लागिएको स्थान हल्दिवारीमा दर्ता भएको देखिँदैन ।
त्यसैगरी वातावरण प्रभाव मूल्याङ्कन पनि गरिएको पाइँदैन । तर, सञ्चालकहरूले चारपाने १ मा दर्ता रहेको नमुना इटाभट्टाको शाखाको रुपमा हल्दिबारीमा नेशनल ब्रिक इन्डष्ट्रिजको नाममा गरिएको वातावरण प्रभाव मूल्याङ्कनको निहुँ पारेर सञ्चालकहरूले हल्दिबारीमा नमुना इटाभट्टा सञ्चालन गर्न लागेका थिए ।
भट्टाको साँध सिमाना भएका सँधियार र भट्टाले प्रतिकुल असर पार्ने क्षेत्रका सम्पूर्ण व्यक्तिहरूसँग कुनै स्वीकृति नलिई घरेलु तथा साना उद्योग कार्यालयमा दर्तासमेत नगरी पुनः सो भट्टा सञ्चालन गर्न लागिएको स्थानीय रुकुम गुरुङले बताए ।
उनले मानव बस्तीसँगै विद्यालय, अस्पताललाई प्रतिकुल असर पार्ने भएपछि आफूहरूले विभिन्न निकायमा निवेदन दिएको जानकारी दिए । सँधियारसहित १ सय २२ जनाले हल्दिबारी गाउँपालिकाको न्यायिक समितिमा भट्टा सञ्चालन हुन नदिन निवेदन दिएका थिए । त्यसअघि उनीहरूले वडा कार्यालयको पनि ध्यानाकर्षण गराएका थिए ।
फाइल तस्वीर