सोलुखुम्बु ।
जिल्ला प्रहरी कार्यालय सोलु मातहतमा रहेको प्रहरी चौकी खुम्जुङको नवनिर्मित कार्यालय भवनको उद्घाटन भएको छ । शनिवार एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीले उक्त प्रहरी चौकी भवनको उद्घाटन गरेका हुन् ।
१ करोड ६८ लाख ६४ हजार ३ सय ८४ रुपैयाँको लागतमा प्रहरी चौकी खुम्जुङको कार्यालय भवन, आवास, भान्साघर तथा शौचालयको निर्माण सम्पन्न भएको हो ।
भवनको उद्घाटन गर्दै प्रहरी नायव महानिरीक्षक बिसीले गाँस बासको उचित ब्यबस्था भएसँगै प्रहरी कर्मचारीमा काम गर्ने थप हौसला मिल्ने बताए। उनले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताए ।
कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक बिसीले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्ने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गरेका थिए ।