सोलुखुम्बु । 

ईलाका प्रहरी कार्यालय नाम्चे सोलुखुम्बुको कार्यालय तथा आवास भवनको उद्घाटन भएको छ । कार्यालयको हाता भित्र आज (शुक्रबार)  बिहान भएको एक कार्यक्रमका बिच संगठन प्रमुख प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले  भवनको उद्घाटन गरेका हुन् ।

भवनको उदुघाटन गर्दै प्रमुख अतिथि प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताए । उनले भवन आफैमा केही नभएको बताउँदै , नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउन जरुरी भएको बताए । उनले  भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्ने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गरेका थिए । 

 कार्यक्रममा  १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले भौतिक पुर्वाधारको अभाव र अपर्याप्ताले प्रहरी सेवाका कार्यहरुमा प्रत्यक्ष असर पर्ने बताए ।  २४ सै घण्टा ड्युटीमा रहने  प्रहरी कर्मचारीहरुलाई यस्ता भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताएका छन् ।

उनले थप जोस र उर्जाका साथ प्रहरी काम कारवाही गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए। ईलाका प्रहरी कार्यालय नाम्चे सोलुखुम्बुको कार्यालय तथा आवास भवन २ करोड ०४ लाख ४७ हजार ८ सय ५५ रुपैयाको  लागतमा निर्माण सम्पन्न भएको भएको हो ।