झापा । 

देशभरिका बालबालिकालाई  कात्तिक ७ र ८गते भिटामिन ‘ए’ महिला स्वास्थ्य स्वमसेविका र स्वास्थ केन्द्रहरू मार्फत निःशुल्क खुवाउने कार्यक्रम छ ।

स्वास्थ्य तथा  जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने जानकारी दिएको  छ । 

सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन थालिएको मन्त्रालयले जनाएको छ ।  सोही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने छ ।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो । 

मन्त्रालयले भिटामिन ‘ए’ खुवाउन लैजाँदा अभिभावकलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

मन्त्रालयले वितरण केन्द्रमा भीडभाड नगर्न, एक व्यक्ति र अर्को व्यक्तिबीच कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, आफ्नो र बालबालिकाको सुरक्षाका लागि अनिवार्यरूपमा मास्कको सही तरिकाले प्रयोग गर्न र साबुनपानीले पटक–पटक हात धुन र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरिएको छ ।