विराटनगर ।
बेमौसमी झरीको कारण १ नम्बर प्रदेशमा गएको तिन दिन यता बाढी पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाईते र १३ जना बेपता भएका छन् भने सयौ घर डुवानमा परेका छन् ।
प्रदेश १ मा सबै भन्दा बढी पाँचथर जिल्लामा मानविय क्षति भएको छ । पाँचथर जिल्लामा मात्र २८ जनाको मृत्यु भएको छ भने १० जना घाईते र ६ जना बेपत्ता भएका छन् ।
पाँचथरको कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा पहिरोले घर पुरिदा २८ जनाको मृत्यु , १० जना घाईते र ६ जना बेपत्ता भएका हुन् ।
यसैगरी ईलाम जिल्लाको फाकफोकथुम गाउँपालिका, सुर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा बाढी पहिरोको कारण १४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते तथा १ जना बेपत्ता भएका छन् ।
यस्तै धनकुटाको चौबिसे गाउँपालिकामा बाढी पहिरोकै कारण ७ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । सुनसरीको धरान उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा बाढी पहिरोको कारण ८ जनाको मृत्यु भएको छ भने३ जना बेपत्ता भएका छन् । यसैगरी मोरङको बिराटनगर महानगरपालिका–१२ मा १ जनाको मृत्यु भएको छ । भोजपुरको राम प्रसास राई गाउँपालिका–६ मा खोलाले बगाएर १ जनाको मृत्यु भएको तथा उदयपुरको त्रियुगा नगरपालिका र उदयपुर गढी गाउँपालिकामा बाढीका कारण १÷१ जनाको मृत्यु भएको छ ।
बेमौसमी झरीका कारण सयौ घर डुबानमा परेका छन् भने ४ हजार भन्दा बढी मानिसहरु बिस्थापित भएका छन् । डुवान भएको क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी बिस्थापित भएका मानिसहरुलाई सुरक्षित स्थान तर्फ स्थानान्तरण गर्ने कार्य भईरहेको छ । हालसम्म १ नम्बर प्रदेश भरी ५ हजार ९५ जना प्रहरी जनशक्ती उद्धार कार्यमा परिचालन भईरहेका छन् भने बाँकी प्रहरी तयारी अवस्थामा रहेको प्रहरीले जनाएको छ ।