काठमाडौँ ।
केही दिनदेखिको अविरल बर्षापछि आएको बाढी, पहिरो र डुवानमा परेर देशका विभिन्न जिल्लामा गरेर मृत्यु हुनेको संख्या ३१ पुगेको छ । सम्पर्क विहीन व्यक्तिको सङ्ख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ ।
गृहमन्त्रालयमा आज (बुधवार) बिहानसम्मको प्राप्त विवरण अनुसार अन्य ४३ जना बेपत्ता भएका छन् । विपद्मा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिएका छन् ।
अहिलेसम्मको प्राप्त विवरण अनुसार इलाममा सात, पाँचथरमा छ, डोटीमा सात, धनकुटामा छ, सुनसुरीमा दुई, कालीकोटमा एक, डडेलधुरामा एकसहित ३१ जनाको मृत्यु भएको उनले जानकारी दिएका छन् ।
उनका अनुसार पहिरोमा परेर हुम्लामा छ, बझाङमा २३, कैलालीमा चारसहित विभिन्न जिल्लाका गरेर ४३ जना बेपत्ता भएका छन् । अहिलेसम्म विभिन्न जिल्लाबाट ७०० को उद्धार गरिएको छ ।