- सुदिप गिरी
हल्दिवारी ।
शिरमा रातो टीका कानमा पहेँलो जमरा लगाएर ‘दसैँमा एक छिन भए पनि धर्तीमा टेक्नु हुँदैन’ भन्ने परम्परागत कथन छ । यो कथनमा कतिको वैज्ञानिक कारण छ त्यो त अलग्गै विषय हुनसक्ला । यस कथनलाई चरितार्थ गर्दै दसैँका बेला गाउँ शहर जताततै हालिने लिङ्गे पिङ पछिल्ला केही वर्ष यता हराउँदै जान थालेका छन् ।
झापाका गाउँदेखि ठूला शहर बजारमा हिन्दूको महान् चाड दसैं आउनु केही समय अघिदेखि नै लिङ्गे पिङ हालेर खेलिने मौलिक परम्परा पछिल्लो पुस्तामा चासो कम भएसँगै हराउन थालेका छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण दसैँका बेला हालिँदै आएको पिङ अहिले क्रमश कम हुँदै गएको पाइन्छ ।
विगत बर्षका दसैँहरुमा दशैं आउनु अघि नै कोही पिङ्गको डोरी त कोही बाँस तथा कोहि काठको जुवाको जोहो गर्न थाल्थे । झापाका विभिन्न स्थानमा दर्जनौं दर्जन लिङ्गे पिङ हालेर बालबालिकादेखि युवाको भिड हुने गथ्र्यो । विस्तारै समाजका युवाले आधुनिक कला संस्कृतिलाई अँगाल्न लागेपछि मौलिक संस्कृतिका अङ्ग पिङप्रति बेवास्ता बढेको पाइन्छ ।
केही वर्ष अघिसम्म दसैँ, तिहार जस्ता चाडपर्वमा गाउँ शहर जताततै लिङ्गे पिङ हालिन्थ्यो । आ–आफ्ना साथीभाई, दौतरीसँग भेला भएर चच..हु..इई गर्दै पिङमा मच्चिएर रमाइलो गरिन्थ्यो । तर, पछिल्लो समय गाउँ–गाउँमा खेलिने लिङ्गे पिङको चलन बिस्तारै हराउँदै गएको हल्दिबारी –३ का ज्येष्ठ नागरिक रामप्रसाद न्यौपानेले बताएका छन् ।
‘दसैँका बेला गाउँका चौतारी, दोबाटो र डाँडामा जम्मा भएर सामूहिक लिङ्गे पिङ खेल्ने र रमाइलो गर्ने साथी भाई आफन्तहरू जम्मा हुने रमाइलो गर्ने परम्परा बिस्तारै हराउँदै गएको छ’ न्यौपानेले भने ‘अलि पाको मान्छेलाई डोरी बाट्न लगाइन्थ्यो, बाँस जम्मा गर्न युवालाई लगाईन्थ्यो, कसैको घरबाट काठको बलियो जुवा ल्याएर खावा हालिन्थ्यो र मज्जाले पिङ खेलिन्थ्यो’ उनी भन्छन् ‘अहिले त पिङ होइन, मोबाइलमा पब्जी र केके खेल्छन्,चङ्गा..त...त्यो भनेको के हो ? भन्न थालिसके केटाकेटी ।’ पिङ हाल्ने जाँगर अहिलेको युवा पुस्तामा नभएको उनले बताए ।
आफ्ना परम्परागत मान्यता, सीप र प्रविधितर्फ उदासिन बन्दै गएकाले चाडपर्वको मौलिकता पनि हराउँदै गएको श्रीकृष्ण कुवँरले बताए । उनका अनुसार पहिले पहिले दशैंमा मौलिक नाचहरू (सनथाल नाच) घर घर आउथे नाच्दै गाउँदै रमाउथे दशैं अगाडि देखिनै मेला, महोत्सव हुन्थे सास्कृतिक कार्यक्रम, स्टेज नाटकहरू आयोजना हुन्थे, बिभिन्न शक्ति पिठहरूमा धुमधामका साथ पूजा गरी बली चडाइन्थ्यो । सामुहिक दुर्गा पूजाहरू टोल टोलमा हुन्थे अब त ती सबै लोभ हुँदै गएको उनले बताए ।