बिर्तामोड ।
बडादशैंको अवसरमा झापाको बिर्तामोडमा ‘अन्तर्राष्ट्रिय भूतपूर्व फौजी च्यालेन्ज कप २०७८’ हुने भएको छ । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा यही असोज २३ गतेदेखि पूर्वसैनिक तथा प्रहरीहरु सम्मिलित फुटबल प्रतियोगिता हुने भएको अध्यक्ष डिके गुरुङले जानकारी दिए ।
नेपाल तथा भारतका छ टिम सहभागी हुने प्रतियोगिताको फाइनल खेल असोज २७ गते हुनेछ । प्रतियोगिताका विजेताले नगद एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउने छन् भने उपविजेता टिमले ७१ हजार १११ रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने गुरुङले बताए ।
खेलका उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पाउने छन् । उच्च गोलकर्ताको पुरस्कार ६० वर्षभन्दा माथिका खेलाडीले मात्र पाउने संघले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न पाँच लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।