बिराटनगर ।
६६औ प्रहरी दिवस २०७८ १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा मातहत प्रहरी कार्यालयहरुले आज अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुका साथै विबिध कार्यक्रमहरुको आयोजना गरी मनाएका छन् । प्रहरी दिवसको अवसरमा बिबिध खेलकुद, दिपावली, रक्तदान, सार्वजनिक स्थल सरसफाई, लगायतका कार्यक्रमहरुको आयोजना गरिएको थियो ।
१ नं. प्रदेश प्रहरी कार्यालयमा आज आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेशका माननीय मुख्यमन्त्री भीमप्रसाद आचार्य, आन्तरिक मामिला तथा कानून राज्यमन्त्री लिला बल्लभ अधिकारी, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी. लगायतको उपस्थित रहेको थियो । १ नं. प्रदेश प्रहरी कार्यालयमा अवस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै सम्पन्न दिवस सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका १ नं. प्रदेशका मुख्यमन्त्री आचार्यले कर्तब्य पालनाको शिलशिलामा गत बर्ष यस प्रदेश अन्तरगतमा वीरगती प्राप्त गरेका अमर प्रहरीका परिवारहरुलाई नगद तथा कदर पत्रद्वारा सम्मान गर्नुका साथै नयाँ भवन निर्माणार्थ आफ्नो अमुल्य जग्गा निःशुल्क प्रदान गर्ने जग्गादातालाई कदर–पत्र र देशभरमा कार्यरत उत्कृष्ट मध्ये यस प्रदेशका प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथी १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री अधिकारीले परिक्षामा उत्कृष्ट अंक ल्याउने पुर्व तथा बहालवाला प्रहरीका सन्ततीहरुलाई छात्रवृतीबाट पुरस्कृत गरेका थिए । साथै उनले १ नं. प्रदेश प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये विविध क्षेत्रहरुमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा मुख्यमन्त्री एवं आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीले देश र जनताको सेवा र सुरक्षार्थ आफ्नो कर्तव्य पालनाको सिलसिलामा वीरगती प्राप्त गर्ने वीर अमर प्रहरीहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । आम नागरीकको सुरक्षामा २४ सै घण्टा तल्लिन नेपाल प्रहरीले हरेक नागरीकहरुको मन मस्तिस्कमा रहन सफल भई सकेको हुँदा थप संवेदनशिल भई काम गर्न हौशला प्रदान गरे।
१ नं. प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष चारु कोईराला बि.सी.ले अमर प्रहरी परिवारजनहरुलाई दोशल्ला ओढाएर सम्मान गरेकी थिइन् । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक बिसीले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राण उत्सर्ग गर्ने बहादुर र कर्तव्यपरायण नेपाल प्रहरीका अमर तथा वीर सपूतहरुको सम्झना गरेका थिए । कर्तव्यपालनको क्रममा घाइते भएका प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अग्रज तथा अमर प्रहरीको त्याग र बलिदानले दिएको जिम्मेवारीलाई पूरा गर्नु पर्ने दायित्व आजको दिनमा प्रहरीको काँधमा रहेको बताएका छन् ।