- सुदिप गिरी
चाडपर्वहरू नजिकिदै जाँदा यात्रुलाई यात्रा सरल र सहज बनाउन सिता एयरले काठमाडौं–ताप्लेजुङ्ग, ताप्लेजुङ काठमाडौं, ताप्लेजुङ्ग–भद्रपुर, भद्रपुर–ताप्लेजुङ्ग उडान गर्ने भएको छ। पुरानै भाडादरमा यसै हप्तादेखि उडान सुरु गर्न लागेको एड्भेञ्चर हिमालयन ट्राभल एण्ड ट्रेक प्रालिका प्रबन्धक रणबहादुर खड्काले जानकारी दिए । उडानका लागि यो प्रालिले समन्वय गर्दै आएको छ ।
तराईका जिल्लाबाट पहाड जाने यात्रु समेतलाई दृष्टिगत गरी उडान सुरु गर्न लागिएको खड्काले बताए । काठमाडौंबाट ताप्लेजुङ्ग यात्रु लिएर आएको जहाज ताप्लेजुङ्गका यात्रु लिएर भद्रपुर जाने, भद्रपुरका यात्रु ताप्लेजुङ्ग ल्याउने र ताप्लेजुङ्गका यात्रु लिएर काठमाडौं जाने जनाइएको छ ।
काठमाडौंबाट एक पटकमा १३ जनासम्म यात्रु ताप्लेजुङ्ग जान पाउने छन् भने १६ जनासम्म फर्कन पाउँछन् । ताप्लेजुङ्ग जाँदा फ्यूल भरेर जानुपर्ने भएकाले कम यात्रु अट्छन् । ताप्लेजुङ्ग–काठमाडौंको भाडा आठ हजार रुपैयाँ छ भने ताप्लेजुङ्ग–भद्रपुरको ४५ सय रुपैयाँ रहेको छ । नेपाल वायु सेवा निगमले पनि सातामा चार दिन काठमाडौं–ताप्लेजुङ्ग उडान गर्दै आएको छ ।


















