सुरुङ्गा । 

बडा दशैंको अवसर पारेर झापाको कनकाईमा संचालन भएको  वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको उद्घाटन खेलमा कनकाई ७ ले विजय वनेको छ ।

कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा आज भएको उद्घाटन खेलमा वडा नं.९ लाई १—० को अन्तरले पछि पार्दै वडा नं.७ ले विजय सुरुवात गरेको हो । प्रतिस्पर्धात्मक रुपमा रहेको खेलको ४३ औं मिनटमा विजयी टिमका सनम मर्डीले गरेको लामो प्रहार गोलमा परिणत भएपछि टिमले अग्रता पाएको थियो । खेलको म्यान अफ द म्याच विजयी टिमका गोल कर्ता सनम मर्डी घोषित भए ।

प्रतियोगिताको दोस्रो दिन (सोमबार) कनकाईको वडा नं.४ र वडा नं.२ विचमा प्रतिस्पर्धा हुने खेल आयोजक समितिका संयोजक गोविन्द उप्रेतीले बताए । प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार र दोस्रो पुरस्कार ३१ हजार नगद साथै प्रमाण पत्र र ट्रफी रहेको बताइएको छ । यसका साथै सेमी फाइनलमा पुगेर पराजीत हुने दुईवटा टिमलाई समेत सान्त्वना स्वरुप ५÷५ हजार नगद प्रदान गरिने जनाइएको छ ।

 फुटबलका पारखीहरुलाई भरपुर मनोरञ्जन दिने उद्येश्य राखेर कनकाई नगर खेलकुद विकास समितिले वडास्तरीय फुटवल प्रतियोगिताको आयोजना गरेको हो । असोज २५ गते समापन हुने प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै  कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले नगर क्षेत्रका खेलाडीहरु विचमा स्वस्थ प्रतिस्पर्धा गराई कनकाई नगरपालिकाको उत्कृष्ट फुटबल टिम उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन् । ।