बिर्तामोड ।  

झापाको बिर्तामोडमा असोज १८ गतेदेखि वडा स्तरीय  फुटवल प्रतियोगिता हुने भएको छ ।  नगर खेलकुद विकास समिति बिर्तामोडको आयोजना तथा वडा खेलकुद विकास समिति बिर्तामोड–१० को सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । 

नगर खेलकुद विकास समितिले आइतवार बिर्तामोडमा पत्रकार सम्मेदन गरी प्रतियोगिताका विषयमा जानकारी दिएको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि लागि खेलकुद भन्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष टिका संग्रौलाले जानकारी दिए । उक्त प्रतियोगिता महेन्द्रज्योती माविको खेल मैदानमा हुने अध्यक्ष संग्रौलाले बताए ।

असोज १८ गतेदेखि शुरु हुने प्रतियोगिताको फाइनल २५ गते हुने जनाइएको छ । फाइनलका दिन नगरका कर्मचारी र नगर खेलकुद बिकास समितिबीच मैत्रीपूर्ण खेल समेत हुने जनाइएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ७५ हजार र दोस्रो हुनेलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने जनाइएको छ । 

पत्रकार भेटघाट कार्यक्रममा नगर खेलकुद विकास समितिका उपाध्यक्ष केशव भण्डारी, सह सचिव डिल्ली सुब्बा, वडा नं. ७ खेलकुद समितिका अध्यक्ष वद्री प्याकुरेललगायतको उपस्थिति रहेको थियो ।