सुरुङ्गा ।

दशैको अवसर पारेर कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा कनकाई वडास्तरीय नक–आउट प्रतियोगिता हुने भएको छ ।  असोज १७ देखि शुरु हुने प्रतियोगिता २५ गते सम्पन्न गरिने आयोजकले शुक्रवार सुरुङ्गामा पत्रकार भेटघाटका क्रममा जानकारी दिएको हो । 

समितिले राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलकुदप्रति तल्लो तहका खेलाडीहरुमा रुची बढाउने, खेलको स्तर बढाउदै राष्ट्रका लागि उत्कृष्ट खेलाडी उत्पादन गर्ने, युवा पीढीलाई खेलका माध्यमबाट कुलतबाट बचाउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरेको खेलकुद संयोजक गोविन्द उप्रेतीले जानकारी दिए । उनले सवै खेल कनकाई मावि सुरुङ्गाको खेल मैदानमा हुने बताए । खेलाडीको हकमा भने तोकिएकै वडामा हुने र त्यो वडा कार्यालयले प्रमाणित गर्नु पर्ने उनले बताए । 

प्रतियोगितामा ९ वटा टिम सहभागी रहने आयोजक संस्थाका अध्यक्ष रविन्द्र लम्सालले बताए । प्रतियोगितामा सोहि वडाको भए राष्ट्रिय खेलाडी पनि सहभागी हुन पाउने लम्सालले जानकारी दिए । कोभिड–१९ का कारण लामो समयदेखि थलिएको खेल जीवनलाई स्थानीय स्तरमा उर्जा थप्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक समितिले जनाएको छ । 

प्रतियोगितामा प्रथम हुने टिमलाई ५१ हजार दोस्रोलाई ३१ हजार र सान्तवना पुरस्कार १० हजारसहित ट्रफि, प्रमाणपत्र, मेडल र खेलकुद सामाग्री पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताका लागि ३ लाख ५२ हजार अनुमानित खर्च हुने आयोजक समितिले जनाएको छ । कार्यक्रमको सञ्चालन आयोजक समितिका सदस्य जविन तिम्सिनाले गरेका थिए ।