अर्जुनधारा ।

 झापाको अर्जुनधारा नगरपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत निर्माण भइरहेका भवनहरुको रकम उपलब्ध गराउने भएको छ । नगर क्षेत्रमा निर्माण कार्य भइरहेका ४ वटा बिद्यालयको रनिङ बिल भुक्तानी गर्ने भएको हो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा आएको सशर्त बजेट समयमै भुक्तानी नहुँदा फ्रिज भएको थियो । 

गत साउन महिनामा नगरपालिकाले भुक्तानी नदिएको भन्दै विद्यालय व्यवस्थापन समिति, अभिभावक संघलगायतले विरोध जनाउँदै तालाबन्दीसमेत गरेका थिए । तर, नगर प्रमुख हरिकुमार रानाले बजेट फ्रिज भए पनि आन्तरिक स्रोतबाट निर्माणाधीन भवनहरुको भुक्तानी दिने सहमति जनाएपछि नगरको तालाबन्दी खुलेको थियो ।

यसैबीच, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत निर्माण भइरहेका भवनहरुको अर्जुनधारा नगरपालिकाले मंगलबार अनुगमन गरेको थियो ।अर्जुनधारा वडा नम्बर ६ मा लक्ष्मी माविमा १८ लाखमा बनेको २ कोठाको भवन, वडा नम्बर ५ को भानु माविमा ३६ लाखमा ४ कोठा, वडा नम्बर १ को सिंहदेवी माविमा १८ लाखमा २ कोठा र वडा नम्बर १० को सिंहवाहिनी प्राविमा १८ लाखमा २ कोठा निर्माणाधीन भवनको नगर प्रमुख रानासहितको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौँलागाईले नगरका प्राविधिकहरुको मुल्यांकनको आधारमा रनिङ विल भुक्तानी गरिने तयारी थालिएको बताए । उनले निर्माण कार्य जारी रहेकाले कामका आधारमा भुक्तानी गरिने पनि बताए ।

नगरपालिकाको लागि आर्थिक वर्ष ०७७÷०७८ का लागि सशर्त अनुदानअन्तर्गत सम्झौता भएर काम भएकोले आर्थिक वर्षको अन्त्यमा प्राविधिक कारणले भुक्तानी नभएर बजेट फ्रिज भएकाले उक्त रकम नगरपालिकाको आन्तरिक श्रोतबाट आर्थिक वर्ष ०७८र०७९ मा भुक्तानी गर्ने साउन २६ गतेको नगरपालिकाको बोर्ड बेठकले निर्णय गरिसकेको थियो ।अनुगमनमा कार्यपालिका सदस्य दिलिप गुरुङ, रमेश त्रिखत्री , शिक्षा शाखा प्रमुख तोयानाथ रेग्मी, इन्जिनियर निरज अधिकारी लगायत थिए ।